देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अखिल क्रान्तिकारीमा फेरि नयाँ लफडा

देशान्तर

काठमाडौं । अखिल क्रान्तिकारीमा फेरि अर्को नयाँ लफडा सुरु भएको छ । लामो विवादका बीच ३२ वर्षे उमेर हद लगाएर केन्द्रीय नेतृत्व चयन गरेको क्रान्तिकारीमा केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गर्दै वरीयता मिलाउन माग गरेका छन् र त्यो नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारीका ९ मध्ये ६ वटा प्रदेश अध्यक्षहरुले संयुक्त पत्र लेखेर विधान नसच्याए पदाधिकारी बैठक, शपथग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी नगराउने चेतावनी दिएका छन् । प्रदेश अध्यक्षहरुले फ्र्याक्सन इञ्चार्जलाई पत्र पठाउँदै विधानमा भएको नीतिगत त्रुटि सच्चाउन माग गरेका हुन् ।

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू गरेर अध्यक्षमा विजय सापकोटा नेतृत्वको टोली निर्वाचित भएको थियो । केन्द्रको नेतृत्व चयन हुनुभन्दा अगाडि उमेर हद नलगाई क्याम्पस इकाइ समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन (केही बाहेक) सम्पन्न भएका थिए ।

उमेरहदबारे निर्णय स्पष्ट नभएको अवस्थामा उमेर र क्रियाशीलता दुवै आधारमा ‘सिनियर’ नेताहरु प्रदेश अध्यक्ष बनेका थिए । अहिले केन्द्रमा ‘जुनियर’ नेतृत्व आएपछि प्रदेश अध्यक्षहरुले वरीयताक्रम मिलाउन माग गरेका हुन् ।

प्रदेश अध्यक्षलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिन माग

प्रदेश अध्यक्षहरुलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिनुपर्ने उनीहरुको माग छ । यसैगरी प्रदेशको उपाध्यक्ष र प्रमुख सचिवलाई केन्द्रको उपमहासचिव सरह तथा अन्य पदाधिकारीलाई सचिव वो सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन उनीहरुले माग गरेका छन् ।

‘हामी माथि हुन गएको अन्यायलाई छिटो भन्दा छिटो सम्बोधन गरी परिपत्र जारी गर्न अनुरोध गर्दछौं । अन्यथा हामी प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं,’ पत्रमा लेखिएको छ, ‘पदाधिकारी बैठक, सपथ ग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगाएत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा हामी सहभागी गराउने छैनौं भन्ने कुराको जानकारी जानकारी गराउँदछौं ।’

उनीहरुले विभिन्न विमति भए पनि आसन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई विजय गराउन लाग्ने र त्यसको निम्ति प्रदेश कमिटीले आफैं कार्ययोजना बनाएर अघि बढ्ने स्पष्ट पारेका छन् । पत्रमा अखिल क्रान्तिकारीका नौ प्रदेश कमिटीमध्ये ६ प्रदेश कमिटी अध्यक्षको हस्ताक्षर छ ।

पत्रमा हस्ताक्षर गर्नेहरुमा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष वीरबहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष मनसिंह शाही, लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शाह, गण्डकी प्रदेश अध्यक्ष त्रिदीप गुरुङ, बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल र कोशी प्रदेश अध्यक्ष चन्द्र माङमुङ छन् ।

मधेश, विश्वविद्यालय र विशेष प्रदेशको सम्मेलन नभएकाले नेतृत्व चयन हुन सकेको छैन । ती प्रदेशबाट प्रतिनिधिहरुमात्र चुनेर राष्ट्रिय सम्मेलनमा पठाइएको थियो ।