काठमाडौं । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए ।
“क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उनले भने, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राखे । उनले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिए ।
“क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्कनुभएको छ”, उनले भने, “तेस्रो र चौथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ । ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ ।”
क्यान्सरका चार चरण
क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ । क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ । उनले नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उल्लेख गरे ।
डा. शाहीले फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भयो बढेर कहीँ पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अङ्ग कलेजो, पेटमा गयो भने त्यसलाई चरण चार भनिने जानकारी दिए ।
नेपालमा सस्तो उपचार
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ । क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उनले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने विचार राखे ।
उनले सरकारी अस्पतालमा रु ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा रु पाँच लाखसम्म लाग्ने बताए । “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ । साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि रु एक लाख उपलब्ध गराउने गर्दछ”, उनले भने ।
क्यान्सर हुनुका कारण
क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीले बताए ।
“भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जंकफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्दछौँ, यसले क्यान्सरको जोखिम बढाउँछ”, उनले भने । उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिने धारणा राखे । उनका अनुसार शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन रहेको हुन्छ, त्यही जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने गर्दछ ।
उनले जिनमा खराबी उत्पन्न गराउने कारक तत्त्वमध्ये सुर्तीजन्य पदार्थको सेवन, मादक पदार्थ सेवन, अखाद्य तत्व प्रमुख रहेको बताए । उनका अनुसार अस्पतालमा वर्षमा एक लाख क्यान्सरका बिरामीको उपचार हुने गरेको छ ।
दैनिक पाँच सय बिरामी उपचारका लागि आउने गरेका छन् । हरेक दिनमा ४० देखि ५० जना बिरामीको किमोथेरापी र एक सय ५० जना रेडिएसन (सेकाइ)का लागि आउने गर्दछन् । उनले समयमा उपचार नगरे भने बिरामीको ज्यान पनि जानसक्ने जोखिम रहेको बताए ।
प्रतिक्रिया