काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको भन्दै त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।
बिपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए । संविधान र राजनीति समावेशी समानुपातिक व्यवस्था भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।
यसैगरी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेताहरूलाई सार्वजनिक मञ्चमा विवादका कुराहरू नगर्न आग्रह गरे । उनले पार्टीभित्रका कुरालाई कोठाभित्रको छलफलमा राख्नुपर्ने बताए । उनले एकताबद्ध भएर अभियान चलाए तीन वर्षको अभियानपछि ०८४ को आम चुनावमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने भन्दै रोक्यो भने कांग्रेसको वर्षौँदेखिको अन्तर्घातले रोक्ने बताए । अन्तरघात कांग्रेसको महारोग भएको उनको भनाई थियो ।
प्रतिक्रिया