देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सवारी दुर्घटनामा परी तनहुँमा ६ महिनामा ३८ जनाको मृत्यु

देशान्तर

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एकजनाको मृत्यु भयो भने १३ जना घाइते भए ।

पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन–पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो ।

गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुईपांग्रे सवारी दुर्घटनामा परेका छन् । मोटरसाइकल र स्कूटर बढी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

पृथ्वीराज मार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । विगतमा सडकको दुरावस्थाले सवारी दुर्घटना हुने गरे पनि हाल सडक विस्तारले गर्दा झनै दुर्घटना बढाएको प्रहरीको अनुमान छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विद्यालय, समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आव २०७९–८० मा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो । त्यस्तै आव २०७८–७९ मा दुर्घटनामा परी ४९ जना, २०७७–७८ मा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।

त्यसैगरी आव ०७६–७७ मा ४४ र ०७५–७६ मा ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ ।