काठमाडौं । मेनपावर व्यवसायीहरूको राष्ट्रिय संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको फागुन २ गते हुने निर्वाचनका लागि समूहगत प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक व्यवसायी एसोसिएसनबाटै दुई समूह रहेका छन् । एमालेको छुट्टै समूह बन्दा माओवादी र समाजवादीनिकटको अर्को प्यानल बनेको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले बिहीबार राति अध्यक्षसहितका उम्मेदवार टुंग्याएर सार्वजनिक गरेपछि एसोसिएसनभित्रै असन्तुष्टि देखिएको छ । एसोसिएसनबाट सातजनाले अध्यक्ष पदका लागि दाबेदारी गरेपछि उनीहरूको उम्मेदवारीको कारण, प्रतिबद्धता तथा कार्ययोजनासहित राय लिएको र सोही आधारमा उम्मेदवार टुंग्याएको जनाइएको छ ।
एसोसिएसनले अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिहं गुरुङलाई मैदानमा पठाउने निर्णय गरेको छ भने प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र महासचिवमा महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एसोसिएसनले सदस्यहरूमा दीपककुमार राय, विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, विश्वास तिमिल्सिना र सुवर्ण लामा गरी नौजनाको उम्मेदवारी टुंगो लगाएको छ । तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य केही दिनमा टुंगो लाग्ने बताइएको छ । एसोसिएसनभित्र अध्यक्ष पदका लागि संघका वर्तमान महासचिव मेघनाथ भुर्तेल, चिरञ्जीवी बस्याल, प्रज्ञान न्यौपाने, सुजितकुमार श्रेष्ठ, कुमुद खनाल र किशोर केसी गरी सातजना आकांक्षी थिए ।
प्रथम उपाध्यक्षमा ढकालसहित सेवन्तराज न्यौपाने, अमरप्रकाश तिवारी, द्वितीय उपाध्यक्षका लागि खोखालीसहित महम्मद जवारदिन मियाँ र देवीप्रसाद काफ्ले, शिवकुमार कार्की र हर्कबहादुर लिम्बूको दाबी परेको थियो । महासचिवका लागि बस्नेतसहित लक्ष्मण पौडेल, कर्णराज कटुवाल र सोमबहादुर तामाङको दाबी परेको थियोे ।एसोसिएसनले उम्मेदवार छनोट गर्दा आकांक्षीलाई नराखी एकलौटी ढंगबाट गरेको भन्दै नेपाल लोकतान्त्रिक व्यवसायी एसोसिएसनमा आबद्ध ६ व्यवसायीले उम्मेदवार छनोट गर्ने एसोसिएसन कार्यसमितिको निर्णयको लिखित विरोध गर्दै कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल नै घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका तर्फबाट निर्णय सच्याउन समेत आग्रह गरेका छन् ।
संघको अध्यक्षका लागि सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक प्रज्ञान न्यौपाने, फ्युजन इन्टरनेसनल प्रालिका सञ्चालक कुमुद खनाल, एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक भुवनसिं गुरुङ र एसआरके ओभरसिज प्रालिका सञ्चालक किशोर केसीले दाबी पेस गरेका थिए । त्यसमध्ये एसोसिएसनले संघको निर्वाचनका लागि गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक गुरुङको अध्यक्षतामा नौजना उम्मेदवार सार्वजनिक गरेपछि विरोध भएको हो ।
गुरुङबाहेकका ६ जना आकांक्षीले एसोसिएसन कार्यसमितिको निर्णयको विरोधमा संयुक्त प्रेस विज्ञप्तिसमेत जारी गर्दै प्यानल नै बनाएर सार्वजनिक गरेका छन् । विज्ञप्तिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी फागुन २ गते हुने निर्वाचनका लागि माघ १७ गते सार्वजनिक बिदाको दिन एसोसिएसनले मध्यरातमा निर्णय सार्वजनिक गर्नु गलत भएको उल्लेख गरिएको छ ।
संघको २९औँ साधारणसभामा संस्था एवं पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध समानान्तर प्यानल बनाई चुनाव लड्ने उम्मेदवारलाई के आधारमा यस कार्यसमितिले अध्यक्ष पदको उम्मेदवार तय ग¥यो ?’ भन्ने प्रश्न उठाउँदै विज्ञप्तिमा गुरुङकै कारणले गत निर्वाचनमा हार व्यहोर्नुपरेको यथार्थलाई मध्यनजर नगरी पुनः उम्मेदवार छनोट गर्नु आपत्तिजनक र खेदजनक रहेकोे खनाल पक्षको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचनका लागि फ्युजन इन्टरनेसनल प्रालिका सञ्चालक कुमुद खनालको अध्यक्षतामा अध्यक्षका ६ प्रतिस्पर्धीलाई नै समेटेर १९ सदस्यीय प्यानल सार्वजनिक गरिएको छ । खनाल नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका निवर्तमान अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्षसमेत हुन् ।
अध्यक्षका उम्मेदवार खनालले विधि र पद्धतिको रक्षाका लागि आफ्नो नेतृत्वको प्यानल चुनावी मैदानमा आएको भन्दै वैदेशिक रोजगारका एजेन्डालाई निर्णयक निष्कर्षमा पु¥याइने बताए । उनले अघिल्लोपटक एसोसियसनकै बागी उम्मेद्वार गुरुङलाई अहिले आधिकारिक उम्मेदवार दिनै नमिल्ने दाबी गर्दै पार्टीले नै यो करेक्सन गरेर आफूहरूको निर्णयलाई सदर गर्ने जिकिर गरे । उनले एसोसिएसन र पार्टीलाई पहिलाको निर्णय करेक्सनको लागि आइतबारसम्मको समय दिएको र त्यतिबेलासम्म पनि करेक्सन नभए सबैलाई समेटेर संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने बताए ।
उक्त प्यानलको प्रथम उपाध्यक्षमा सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक तथा एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक तथा संघका पूर्वसचिव चिरञ्जीवी बस्याल, तृतीय उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, महासचिवमा नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक तथा संघका महासचिव मेघनाथ भुर्तेलको नाम सार्वजनिक गरिएको छ । उक्त प्यानलबाट सचिवमा हाल संघका सचिव रहेका डाइनामिक स्टाफिङ सोलुसन प्रालिका सञ्चालक कर्णराज कटुवाल, कोषाध्यक्षमा हाल एसोसिएसनकी कोषाध्यक्षको जिम्मेवारीमा रहेकी विनर एचआर सोलुसन प्रालिकी सञ्चालक हिमा गुरुङको नाम सार्वजनिक गरिएको छ ।
कार्यसमिति सदस्यमा अक्सन इन्टरनेसनल प्रालिका सञ्चालक ईश्वर सापकोटा, उज्यालो ओभरसिज प्रालिका सञ्चालक चन्द्रप्रसाद लिम्बू, मार्स म्यानपावर प्रालिका सञ्चालक प्रकाश बोहोरा, शुभहारती मेनपावर प्रालिका सञ्चालक विक्रम श्रेष्ठ, रेडियन्ट ओभरसिज प्रालिका सञ्चालक शिवकुमार कार्की, डोटी ओभरसिज प्रालिका सञ्चालक लिलबहादुर तामाङ, राज ग्रुप अफ कम्पनीका सञ्चालक राजकाजी भोलान, इम्प्लोइमेन्ट क्रियसन प्रालिका सञ्चालक हर्कबहादुर लिम्बू, अलोन ओभरसिज प्रालिका सञ्चालक जंगबहादुर इजाम, सिल्भर कर्नर इन्टरनेसनल प्रालिका सञ्चालक कैलाश पाठक र सुफी इन्टरनेसनल प्रालिका सञ्चालक विन्देश्वर यादव रहेका छन् ।
अहिले एमालेनिकट व्यवसायीको तर्फबाट नरेश गेलाल अध्यक्षका उम्मेदवार बनेका छन् भने माओवादी, समाजवादीलगायत दलका निकटबाट साझा प्यानल बनाउँदै रामप्रसाद भन्तनाले उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुखसमेत रहेका केन्द्रीय सदस्य प्रकाश स्नेहीले आसन्न वैरोको निर्वाचनमा यसअघिको अधिवेशनमा विद्रोह गरेकालाई अहिले टिकट दिलाएको भन्दै उनको भूमिकाका विषयमा पनि प्रश्न उठाइएको छ ।
प्रतिक्रिया