देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविलाई सभामुखको झापड

देशान्तर


काठमाडौं । शुक्रबार सुरु भएको संसद्को हिउँदे अधिवेशनमा निलम्बन फुकुवा भएर सांसदको हैसियतमा भाग लिन पाइन्छ कि भनेर शुक्रबार नै मध्याह्न सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा आफनो पार्टीका उपसभापतिसहित बहुसंख्यक सांसदहरूका साथ निवेदन बोकेर गएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित सांसद रवि लामिछाने सभामुखको जवाफपछि निराश हुँदै सभामुखलाई निवेदन दिँदै गरेको फोटो खिचाएर फर्किएका छन् ।


सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको भन्दै शुक्रबारकै बैठकबाट निलम्बन फुकुवा गरिदिन लामिछानेले सभामुखसमक्ष माग गरेका थिए । ‘राजनीतिक प्रतिशोधका आधारमा लगाइएको मुद्दालाई लिएर प्रतिनिधिसभा नियमावलीको व्यवस्थाभन्दा बाहिर गएर अन्य कानुनको प्रयोग गरी निलम्बन गरिनु नै ममाथिको अन्याय हो,’ निवेदन पढेर सुनाउँदै उनले भनेका थिए ।
जवाफमा सभामुख घिमिरेले आफूले विद्यमान कानुन, संसद् नियमावली र अभ्यासबमोजिम निलम्बनको निर्णय गरेको भन्दै लामिछानेलाई भनेका थिए, ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरू कोही थियो । आज म छु । भोलि अरू कोही हुन सक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो,’ ‘तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ ।’


यसअघि रवि प्रवेश गर्नेबित्तिकै सभामुखले स्वास्थ्य अवस्था के छ ? भनेर सोधेका थिए भने रविले निलम्बन फुकुवाको माग गर्दै आफ्ना कुरा राखेपछि सभामुखले प्रतिप्रश्न गरेका थिए, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’ त्यसो भनेपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए । उनले कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका थिए । लामिछानेले दिएको निवेदनमा अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको उल्लेख गरेका छन् ।


कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो । त्यसको सूचना संसद् सचिवालयले माघ ८ गते प्रकाशित गरेको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा स्वतः निलम्बन हुने प्रावधान छ । तर प्रतिनिधिसभा सञ्चालन नियमावली २०७९ ले भने स्पष्ट रूपमा पुर्पक्षका लागि थुनामा नजाँदासम्म सांसद पद निलम्बन नहुने भनेको छ ।
पुस २५ गते कास्की जिल्ला अदालतले रविसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ६५ करोड रूपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख र रूपन्देही जिल्ला अदालतमा १ करोड धरौटी माग गरेको थियो । उनी तीनवटै जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपु¥याएको टिप्पणी समेत गर्दै आएको छ ।

सदनमा रास्वपाको नौटंकी
राजनीतिक प्रतिशोध राखेर आफ्नो पार्टीको सभापतिको सांसद पद निलम्बन गरेको भन्दै आएको रास्वपाले प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने र यही विषय अधिवेशनको सुरुमै प्रतिनिधिसभामा राख्न खोज्दा नपाएपछि शुक्रबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो दिन बैठकमा सभामुखसँग करिब आधा घन्टा सवाल जवाफमा उत्रियो ।


बैठक सुरु हुनासाथ सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन खोजेलगत्तै रास्वपाका सांसदहरूले उठेर आकस्मिक समयमा बोल्न समय मागे । तर, सभामुख घिमिरले रास्वपाका सांसदको विरोधका बीच आसन ग्रहण गर्न आग्रह मात्र गरेनन्, पटक–पटक निर्देश पनि गरे । सभामुखको निर्देशन रास्वपा सांसदहरूले मानेनन् । उनीहरूले आफ्नो कुरा सुन्नुपर्ने माग गरे । सभामुखले जवाफ फर्काए, ‘माननीयज्यूहरूको कुराहरू सुन्नकै लागि यो अधिवेशन हो । यसका लागि कार्यसूचीमा प्रवेश गरेर अगाडि बढौँ ।’ ‘आकस्मिक समयमा बोल्न पाउनुपर्ने’ रास्वपा सांसदको मागमा सभामुखले आकस्मिक समय नराख्ने तय भएको जवाफ फर्काए ।

‘प्रतिनिधिसभा नियमावलीको नियम १५ मा आकस्मिक समय माग गर्न सकिने व्यवस्था भएको’ रास्वपाका सांसदहरूको भनाइमा हस्तक्षेप गर्दै सभामुखले ‘आफूलाई अनुकूल व्यवस्था मात्रै नपढ्न र सभामुखको आदेशले भनेको होला, त्यो पनि भनेर कड्किए । सवालजवाफ लम्बिँदै गएको र आफूमाथि समेत प्रश्न उठाउन खोजिएपछि सभामुख घिमिरेले सभामुखसँग समय नलिई बोल्न नपाइने र सभामुखको आचरण ठिक नरहेको भन्ने प्रस्तावउपरमाथिको छलफलमा बाहेक सभामुखमाथि प्रश्न उठाउन नपाइने व्यवस्था रहेको स्मरण गराए ।

त्यसपछि करिब आधा घन्टा यस्तै दोहोरो सवाल–जवाफ चलिनै रह्यो । त्यसपछि रास्वपा सांसदहरू १५ मिनेटका लागि बैठक बहिष्कार गर्छौं भनेर बाहिर निस्किए । १५ मिनेटपछि रास्वपाका सांसदहरू फेरि सभाहलमा छिरेका थिए । यसअघि बहिष्कार र विरोधबीच सभा अगाडि बढाउने गरेको त देखिएको थियो, तर आफैँ समय तोकेर बाहिरिने यो अभ्यासलाई कतिपयले नयाँ भनेका छन् भने कतिपयले नौटंकीको संज्ञा दिएका छन् ।