देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रान्तिकारीमा जनार्दन बलियो

देशान्तर


काठमाडौं । हालै सम्पन्न नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्षबाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मानिकटका उम्मेदवार निर्वाचित भएपछि यसलाई पार्टीभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफ्नो प्रभाव बढाउँदै लगेको सन्देशसहितको धक्काको रूपमा हेरिएको छ । विशेष महाधिवेशनको मागलगायत माओवादीभित्र सबै कमिटी तथा पदमा निर्वाचनको माग राखेर पार्टीमा अध्यक्षसँग फरक मत समेत दर्ज गरेका नेता शर्मा आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिनेगरी अघि बढेको र विद्यार्थीको निर्वाचनमा शक्ति परीक्षण गरेको विश्लेषण हुन थालेको छ ।

३३ पदाधिकारी रहेको अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको निर्वाचनमा ५ जना उपाध्यक्ष र महासचिव सहित २२ जना पदाधिकारी शर्मानिकटको प्यानलका उम्मेदवार निर्वाचित भएका थिए । बहुमत पदाधिकारी निर्वाचित भए पनि शर्मानिकटका अध्यक्षका उम्मेदवार हेमन्त राई भने ७२ मतान्तरले विजयप्रकाश सापकोटासँग पराजित भएका थिए । सापकोटालाई पार्टी अध्यक्ष प्रचण्डको आन्तरिक समर्थन रहेको थियो । खुला तथा समावेशीसहित उपाध्यक्षमा नौजना निर्वाचित भएकोमा जनार्दननिकट चारजना निर्वाचित भएका हुन् । अध्यक्षपछिको अर्को कार्यकारी पद महासचिव पनि जनार्दन निकट विजयी भएका छन् । यस्तै नौजना उपमहासचिवमा सातजना जनार्दननिकटका उम्मेदवार निर्वाचित भए ।


खुलातर्फ र विभिन्न समावेशी समूहतर्फ गरेर १२ जना सचिव निर्वाचित हुँदा जनार्दननिकट प्यानलबाट आठजना र कोषाध्यक्षमा पनि शर्मानिकट निर्वाचित भए । अनुशासन आयोगको अध्यक्षमा निर्वाचित पनि शर्मानिकट मानिन्छन् । यसैबीच प्रभाकरले शुक्रबार संसद् भवनको बाहिर पत्रकारसँग कुरा गर्दै अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादी पार्टीभित्र विधिपद्धति स्थापित गर्ने र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियालाई अबको नेतृत्वमा प्रचण्डलाई चुनौती दिने लगभग निश्चित भएको रूपमा हेरिएको छ ।


उनले यसको गृहकार्य अघि बढाएका छन् । माओवादीले ६ महिना पार्टी संगठनकेन्द्रित अभियान चलाएर त्यसपछि महाधिवेशनमा केन्द्रित हुने निर्णय गरिसकेको छ । विद्यार्थी संगठनपछि अब प्रभाकर वाइसिएललगायत जनसंगठनदेखि जिल्ला नेतृत्वमा समेत निर्वाचनबाटै आफ्ना पक्षधरलाई जिताउने रणनीतिअनुसार अघि बढेको उनीनिकटहरूले बताउन थालेका छन् । आगामी निर्वाचनमा नजिते पनि प्रचण्डसँग प्रतिस्पर्धा गरेर वैकल्पिक नेतृत्वमा आफूलाई स्थापित गर्ने योजना शर्माको रहको बताइएको छ । यसका लागि उनले माओवादी केन्द्रभित्र शक्तिको अभ्यास गरिरहेका र गुटको नेतृत्व गरेका नेताहरूसँग पनि छलफल अघि बढाएको उनीनिकटकाहरूको भनाइ छ ।