२०६२/०६३ को दोस्रो जन आन्दोलनपछि मधेस आन्दोलनको बलमा दलहरूको उदय भयो । सुरुमा मधेसवादीको मसिहा बनेका उपेन्द्र यादवलाई साथ दिन नेपाली कांग्रेस र नेकपा एमालेसहित पुराना राजनीतिक दलका मधेस पृष्ठभूमिका नेताहरू पार्टी छाडेर गएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा राम्रै हैसियत प्राप्त गरेको तत्कालीन मधेसी जनअधिकार फोरम त्यसपछि टुक्रा–टुक्रा भएपछि अहिले उनीहरू आफ्नै अस्तित्व जोगाउने अभियानमा पुगेका छन् । मधेसवादी दलहरू नै दर्जन पुग्न लागेका बेला उनीहरूको अहिले संसदीय राजनीतिमा अस्तित्व पनि जोगाउन अप्ठ्यारो भएको छ । २०६४ देखि २०७९ को निर्वाचनपछिसम्म सत्ताको छिनाझपटीमा निरन्तरता सफलता हात पार्दै आएका मधेसवादी दलहरू अहिले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठनबन्धन सरकार बनाएपछि उनीहरूलाई साथ नलिँदा पनि निर्वाध सरकार चल्ने भएपछि उनीहरूको नेप्से अहिले निकै ओरालो लागेको छ ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा चुनावपछि मधेसवादी शक्तिहरूको ओरालो यात्रा सुरु भएको हो भने पुराना राजनीतिक दलहरूको धेरै हदसम्म कमब्याक गर्न सफल भएका छन् भने नयाँ शक्तिको उदयको सम्भावना पनि बढेको छ /
त्यसैले मधेसवादी राजनीतिक दलहरूले एकता र सहकार्यको लागि भन्दै कार्यदल नै गठन गरेर अघि बढेका छन् । मधेसवादी आठ राजनीतिक दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरदसिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक पार्टीबाट वज्रकिशोर सिंह रहेका छन् ।
कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताइएको छ । संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउनका लागि सहकार्य पनि उक्त कार्यदलले गर्ने बताइएको छ ।
‘हामी समान विचार बोकेका पार्टी भविष्यमा समान धारणा बोकेर अगाडि जाऊँ भनेर मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण तयार गर्ने निर्णय गरेका छौँ । सोहीअनुसार आठ राजनीतिक दलका एक÷एक जना नेता रहनेगरी आठ पार्टीको एउटा कार्यदल गठन गरिएको छ,’ जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनीष सुमनले भनेका छन् ।’
प्रतिक्रिया