काठमाडौं । नेपाली फुटबलको मेरुदण्ड मानिएको ए डिभिजन लिग फुटबल नियमित नभइरहेका बेला अहिले नेपाली फुटबललाई मोफसलमा हुने गोल्डकपले धान्दै आएका छन् । तिहारपछि चैतसम्म देशका विभिन्न ठाउँमा हुने गोल्डकप खेल्नका लागि टिमहरू जाने र त्यसकै पुरस्कारलगायतबाट चलिरहेको फुटबलमा नेपाली कांग्रेसले पनि एउटा इँटा थप्न सफल भएको छ । नेपाली कांग्रेसको कान्छो भ्रातृसंस्थाको रूपमा रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अहिले अधिवेशनको चटारोमा रहेको छ । अधिवेशन गराउनकै लागि पार्टीले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा महाधिवेशन निर्देशन समिति नै गठन गरेको छ । समितिले अरूलाई काम गर्ने वातावरण बनाउनका लागि पनि पहिला आफैँ काम गर्ने रणनीति लिएर नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको आयोजना ग¥यो । एक महिनाअघि घोषणा अनि एक हप्ताको तयारीका बीचमा त्रिपुरेश्वरस्थित देशकै एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा भव्यताका साथ सम्पन्न भएको छ ।
८ टिमले खेलेको सभापति कपमा अन्ततः ए डिभिजनको स्थापित क्लब संकटाले उपाधि जित्न सफल भयो । यहाँ उपाधि जित्नुभन्दा पनि नेपाली खेलकुदमा सभापति कपले ठूलो अर्थ र सन्देश पनि दिएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा गोल्डकप गर्ने होडबाजी नै चलेको बेला कांग्रेसले पनि यसमा आफूलाई अघि बढाएको हो र ‘सभापति कप फुटबल प्रतियोगिता’ले आफ्नो पहिलो संस्करणमै अमिट छाप छोड्न सफल भएको खेलप्रेमीहरूले बताएका छन् ।
प्रतियोगिताले नेपाली फुटबलमा एक नयाँ ऊर्जा मात्रै भरेकोे छैन कि, भविष्यमा पनि यसको निरन्तरता रहेमा यो प्रतियोगिता फुटबलको विकास र विस्तारका लागि ‘कोसेढुंगा’ सावित हुने संकेत पनि देखाएको छ । खेलाडी, प्रशिक्षक, क्लब तथा फुटबलप्रेमीहरूले पनि यस प्रतियोगितालाई अत्यन्त सकारात्मक रूपमा लिएका छन् । तर यसको दीर्घकालीन सञ्चालन र स्थायित्वका लागि विशेष पहलकदमी लिनुपर्नेमा सबै पक्षले जोड दिएका छन् ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक बस्नेतले सर्वाधिक पुरस्कार राशिको सभापति कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा राष्ट्रिय सभा भवनमा भएको कार्यक्रममा गर्दा कतिपयले यसलाई शंका–उपशंकाका दृष्टिले हेरेकै थिए । पार्टीको भातृसंगठनले आयोजना गरेको प्रतियोगिता भए पनि सभापति कप सफल भए पछि व्यक्ति मात्रै होइन, पार्टीले पनि स्याबासी पाएको छ । सभापति कप फुटबल प्रतियोगिताले पहिलो संस्करणमै जुन लोकप्रियता हासिल ग¥यो, त्यसले नेपाली फुटबलमा नयाँ तरंग ल्याएको छ । यो प्रतियोगिता सफल हुनुको मुख्य कारण भनेकै यसको व्यवस्थापन, पुरस्कार राशि र पारदर्शिता थियो । आयोजकले सम्पूर्ण आर्थिक कारोबार नगदमै गर्ने परम्परा स्थापित गर्दै पारदर्शिता देखायो । विशेषगरी विजेता र उपविजेतालाई पुरस्कार राशि डालोमा राखेर वितरण गर्नुको सांकेतिक महत्वले प्रतियोगिताको गरिमा थप उचो बनाएको छ । विजेता संकटा क्लबले नगद २६ लाख र उपविजेता आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)ले १३ लाख रुपैयाँ डालोमा राखेर सभापति शेरबहादुर देउवाबाट ग्रहण गर्दा यसले खेलाडी र क्लबहरूलाई मात्र होइन, सम्पूर्ण फुटबल समुदायलाई नै प्रभावित बनाएको छ ।
माघ १० देखि १७ गतेसम्म दशरथ रंगशालामा सम्पन्न सभापति कप फुटबल प्रतियोगिताले छोटो समयमा नै अपार चर्चा कमाउन सफल भयो । यसले दोस्रो संस्करणमा झनै उत्कृष्ट र स्तरीय हुने अपेक्षा बढाएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, राजनीतिक प्रभावभन्दा माथि उठेर सभापति कपलाई पूर्ण रूपमा खेलकुदमै केन्द्रित गर्न सकियो भने यो प्रतियोगिता नेपाली फुटबलका लागि एक ऐतिहासिक उपलब्धि बन्नेछ । फुटबललाई दीर्घकालीन रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आउँदो संस्करणलाई अझ भव्य, व्यवस्थित र स्तरीय बनाउन अहिले नै विशेष रणनीति बनाउने आवश्यकता देखिन्छ ।
सभापति कपको पहिलो संस्करण अत्यन्तै सफल भएको देखिन्छ, तर यसको निरन्तरता कायम राख्नका लागि केही महत्वपूर्ण उपायहरू अवलम्बन गर्न आवश्यक छ । पहिलो, यस प्रतियोगितालाई अझ व्यवस्थित बनाउन फुटबल संघ तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको संरचना विकास गर्नुपर्छ । दोस्रो, प्रतियोगितामा सहभागी हुने क्लबहरूको स्तर वृद्धिका लागि दीर्घकालीन योजना आवश्यक छ । तेस्रो, आर्थिक स्रोतको दीर्घकालीन सुनिश्चितता गर्न व्यवसायिक प्रायोजकहरूलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया