देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाथीभरामा केबलकार निर्माण गर्न जनप्रतिनिधिको माग

देशान्तर


काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथिभरा क्षेत्रमा केबलकार निर्माणको काम अघि बढ्न लागेका बेला त्यहाँ स्थानीयका नाममा विकासविरोधीहरूले अवरोध सिर्जना गरेका छन् । जसरी अफगानिस्तानमा धर्मका नाममा महिलालाई शिक्षाबाट वञ्चित गर्ने, अनुहार देखाएर हिँड्न नपाइनेलगायत कानुन लगाएर देशलाई नै ढुंगेयुगतर्फ फर्काउने काम भइरहेको छ । त्यसरी नै पाथिभरा क्षेत्रमा केबलकार निर्माणले लिम्बू जातिको सांस्कृतिक तथा धार्मिक आस्थामाथि अतिक्रमण हुने हास्यास्पद तर्क गर्दै योजना र सम्झौता खारेज गर्न माग गरिएको जानकारहरू बताउँछन् ।

मंगलबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथिभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने बहानामा लिम्बूहरूको सांस्कृतिक तथा धार्मिक धरोहरमाथि अतिक्रमणको प्रयास भएको बताएकी हुन् । पूर्वमन्त्रीसमेत रहेकी लिम्बूले भनिन्, ‘ प्रकृतिपूजक जाति हो लिम्बू, सो क्षेत्रसँग उनीहरूको धार्मिक, सांस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको छ । यो क्षेत्रमा हजारौं वर्ष पुराना जडीबुटी, वनस्पति तथा वन्यजन्तुहरू छन् । एउटा निजी कम्पनी पोस्ने गरी अहिले जंगल फडानी भइरहेको छ । एउटा निजी कम्पनीको हितका लागि जंगल फडानी भइरहेको छ । यसले हिमाली चराचुरुंगी रेडपान्डासहितका वन्यजन्तुहरू समेत सखाप पार्न खोजिँदै छ ।’

सांसद लिम्बूले केवलकार निर्माण सम्झौ यातायात व्यवसायी, होटल, लज, रेष्टुराँ, पसल, साना उद्योगमाथि दीर्घकालीन नकारात्मक असर पर्ने, हजारौँको रोजगारी खोसिने, सयौं सर्वसाधारण आफ्नो थातथलोबाट विस्थापित हने, भन्दै सम्झौता खारेज गरिनुपर्ने बताइन् । यो सांसद लिम्बूको मात्र आवाज होइन, उनले बोलेको आवाज लामो समयदेखि पूर्वमा चल्दै आएको अराजक गतिविधिको चरम रूप हो । सो क्षेत्रमा आदिवासीका नाममा विगत केही वर्षदेखि विभिन्न आन्दोलन चल्दै आएका छन् । यस्तो आन्दोलनको नेतृत्व कुनै जनाधार नभएका आङकाजी शेर्पाहरूले गर्दै आएका छन् । कुनै एक उद्योगीको हितका लागि केबलकार निर्माण गर्न लागिएको तर्क पनि हास्यास्पद छ ।

नेपालमा यस्ता कैयौँ पहाड र टाकुरा छन्, जहाँ केबलकारको सम्भावना छ । राज्यले केबलकार निर्माणको आवश्यकता देखेर खुलाएको टेण्डरमा सहभागी भएर वैधानिक रूपमा निर्माका लागि आएको कम्पनीलाई अनर्गल आरोप लगाउनु उचित होइन भन्ने जानकारहरू बताउँछन् ।
ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरूले भने यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि बढाउनुपर्ने उनीहरूले बताए ।

अहिले यहाँ देवीको दर्शन गर्न तथा पर्यटकका रुपमा वार्षिक तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक एवं तीर्थालु आउने गरेकामा केबलकार बनेपछि कम्तीमा १५ लाखसम्म पर्यटक यहाँ आउने उनीहरूको आकलन छ ।
यहाँको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा देवीको मन्दिरमा जाने प्रयोजनका लागि बन्न लागेको प्रस्तावित केबलकारबाट जिल्लाको मात्र नभएर सिंगो कोशी प्रदेशमा नै विकासको बाटो खुल्ने भएकाले यो बृहत् आयोजनालाई जतिसक्दो चाँडै अघि बढाउनुपर्ने बताउँछन् ।

यहाँ केबलकार बनेपछि वर्षमा कम्तीमा १५ लाख पर्यटक आउने र रोजगारीमात्र नभएर स्थानीय उत्पादनको बजार र यहाँको जीवनस्तर विकासमा ठूलो सहयोग पुग्ने उनले बताए ।
प्रमुख मादेनले केबलकार निर्माण कम्पनीले मन्दिरलाई पर्खाल लगाएर संरक्षण गर्ने र यसको ऐतिहासिकता र सौन्दर्यमा कुनै असर नपर्नेगरी मन्दिरबाट करिब आठ सय मिटर तल केबलकारको टप स्टेसन राखेर त्यहाँबाट हिँडेर जानेगरी निर्माण प्रस्ताव गरेको जानकारी दिए ।

केही स्थानीयले मन्दिरको सौन्दर्य बिग्रिने र मौलिकता हराउन सक्ने भन्दै निर्माणको विरोध गरे पनि स्थानीय तहका प्रतिनिधिहरू तथा निर्माण कम्पनीले केबलकार निर्माणको विरोधको कुनै अर्थ नरहेको बताएका छन् ।
पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा पर्दछ । यहाँ बर्सेनि करिब तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक पुग्ने गर्दछन् । धेरै उचाइमा मन्दिर रहेकाले यहाँ पुग्न तीर्थालुलाई गाह्रो पर्ने गरेको छ ।
यहाँ पाथिभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीले केबलकार निर्माणको प्रक्रिया सुरु गर्न लागेको हो । केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोसेढुंगा बन्ने बताए ।

केबलकार बन्ने भएपछि यहाँ आउने करिब १५ लाख पर्यटकका कारण स्थानीयले रोजगारीका साथै कम्पनीको पनि १० प्रतिशत शेयर पाउने, यहाँको उत्पादनले बजार पाउने तथा स्थानीय उपजले सहजै बजार पाउने भन्दै स्थानीय भने चाँडो केबलकार र अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि लाग्न आग्रह गर्दछन् ।
सिरीजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले केबलकार बनेमा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै मन्दिरको संरचना र ऐतिहासिकतामा असर नपुग्ने गरी केबलकार निर्माण गर्दा राम्रो हुने उनको सुझाव छ ।

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जिल्लाबासीका सुझाव एवं मागलाई उचित रुपमा सम्बोधन गरेर निर्माण अघि बढाउन सुझाउँछन् ।
यसैबीच केबलकार निर्माणको विरोधमा रहेका केही स्थानीयसँग छलफल गर्न सोमबार बैठक पनि आह्वान गरिएको छ । निर्माणप्रति असहमति जनाइरहेको पक्षसँग समन्वय गर्नका लागि यसअघि जिल्ला समन्वय समितका प्रमुख छिरिङ लामाको संयोजकत्वमा गठित समितिले सोमबार छलफलको आयोजना गरेको हो ।
यता केबलकार खारेजी संयुक्त संघर्ष समितिले भने पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नुहने अडान कायमै राखेको छ । ऐतिहासिक मुन्धुमी स्थलमा केबलकार निर्माण भए ऐतिहासिकता मेटिनुका साथै जल जमिन र जंगलको विनाश हुने उनीहरूको जिकिर छ ।

यसअघिका छलफलमा यहाँका प्रमुख राजनीतिक दलहरूले केबलकार निर्माणलाई चाँडै अघि बढाउन माग गरेका थिए । आन्तरिक रुपमा देखिनसक्ने सबै प्रकारका विवादको समाधान गरेर जिल्लाको पर्यटन प्रर्वद्धनका लागि केबलकार र यससहितका पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि बढाउन दलहरू सकारात्मक देखिएका हुन् ।