काठमाडौं । गायिका एलिना चौहानले आफ्नो सम्बन्धविच्छेदका बारेमा पाँच मिनेट अठार सेकेन्डको भिडियो सार्वजनिक गर्दै थप पीडा नदिन आग्रह गरेकी छन् । कसैले पनि बिहे डिभोर्स होस् भनेर चाहेर सोचेर नगर्ने भन्दै उनले छोरीको बाबु आमाले त झन् सोच्नै नसक्ने भन्दै आफूले बिहे गर्न हतार गरेको र अहिले आएर सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी छिन् । उनले सम्बन्धविच्छेदको निर्णयमा आफूहरू दुईजनाले सल्लाह गरेर, घरपरिवारको पनि सल्लाहमा सोचविचार गरेर गरेको बताएकी छिन् ।
उनले सम्बन्धविच्छेदको अवस्थामा आइपुग्नुमा पति मात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेकी छिन् । आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैँले गाली खाँदा भन्दा बढी पीडा हुने बताएकी छिन् । उनले आफ्ना आमा बुवाजस्तै अरूको पनि भइदिए हुन्थ्यो भनेर कामना गरेकी छिन् । उनले कहिलेकाहीँ कतिपय कुरा इच्छाभन्दा पनि जरुरी बाध्यता हुँदोरहेछ भन्दै मनमुटाव हुँदाहुदै पछि हुन सक्ने ठूलो दुर्घटनाबाट जिन्दगीलाई जोगाउन पनि अप्रिय निर्णय लिनुपर्ने अवस्था आएको बताएकी छिन् ।
चौहानले आफ्नो वैवाहिक जीवनको नौ महिनामै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि पहिलोपल्ट मुख खोलेकी हुन् । अस्ट्रेलिया बस्दै आएका बागलुङनिवासी विष्णु सापकोटासँग गत वैशाखमा बिहे गरेकी एलिनाले शुक्रबार वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी थिइन् । उनले विष्णुलाई अदालतमा झिकाई कायम रहेको पति–पत्नीको नाता सम्बन्धविच्छेद गराउन माग गरेकी छिन् ।
एलिनाले अदालतमा दर्ता गराएको फिरादपत्रमा भनेकी छिन्, ‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुन्थ्यो । तर विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पु¥याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो’, ‘बिहे गरेर म अस्ट्रेलिया गएकी थिएँ । त्यस्तैमा तीन महिनाको अस्ट्रेलिया बसाइपछि म नेपाल फर्किएँ ।
नेपाल फर्किएपछि पनि कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका–उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मानसिक कष्ट भएको हुँदा छुट्टिने निर्णय गरेको’ उल्लेख गरेकी छिन् । उनले मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको भन्दै विपक्षीबाट अंश–माना, चामल नलिने गरी फिरादपत्र लिई अदालतसमक्ष उपस्थित भएको पनि उल्लेख गरेकी छिन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि खटपट सुरु भएको र खटपट घरेलु हिंसाको तहमा पुगेको सार्वजनिक भएको थियो । एलिना विवाहपश्चात् केहीसमय श्रीमानसँग अस्ट्रेलियामै बसेकी थिइन् । गत भदौदेखि दुईबीच असमझदारी बढ्दै चर्चा बाहिर आएको थियो । उनी असोजमा नेपाल फर्किएकी थिइन् । भिडियोमा उनले अदालतमा दर्ता गरेको फिराद पत्र सार्वजनिक भएकोमा गुनासो गरेकी छन् । उनले आफ्नो नम्बर छरपष्ट भएकोले तारन्तार कल आइरहेकोले एक खालको टर्चर भएको पनि बताएकी छिन् ।
प्रतिक्रिया