काठमाडौं । प्रसिद्ध गायक रामकृष्ण ढकाललाई जन्मथलो निजगढमा ‘गायन सम्राट’ उपाधि दिइएको छ ।
निजगढ उद्योग वाणिज्य संघको आयोजना भइरहेको ‘प्रथम निजगढ महोत्सव– २०८१’मा आफ्नो प्रस्तुति दिन निजगढ पुगेका गायक ढकाललाई बुधबार निजगढ नगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मान पत्रमा ‘गायन सम्राट’को उपाधि दिइएको हो ।
नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले हस्ताक्षर गरेर प्रदान गरेको सम्मानपत्रमा करिब चार दशकदेखि अविच्छिन्न रूपमा गरेको योगदानप्रति यो क्षेत्र सदैव कृतज्ञ र ऋणी रहेको उल्लेख छ । नेपाली गीतमार्फत संगीत र संस्कृतिलाई पुस्तान्तरण गर्न र निजगढ क्षेत्रलाई सर्वत्र चिनाउन अहम् भूमिका खेलेको भन्दै समस्त नगरबासीको तर्फबाट सम्मान गर्न पाउँदा गौरवान्वित भएको उल्लेख छ । निजगढ टाइम्सले पनि ढकाललाई सम्मानपत्रसहित ‘गायन सम्राट’को उपाधि दिएको छ ।
निजगढमा सम्मान पाएपछि गायक ढकालले आभार व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्–
हुन त मेरो निजगढ बसाइ त्यति लामो हुन पाएन । तर पनि निजगढ मेरो जन्मभूमि हो, हुर्केको, खेलेको गाउँमात्रै होइन, यही भूमिबाट मैले गायन यात्रामा पाइला सारेको हुँ ।
गत बुधबार निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, संविधानसभाका सदस्य पुरुषोत्तम पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, मेरो प्यारो भाइ सञ्चारकर्मी इन्दिप कोइराला (जसले पछिल्लो समय मेरो र निजगढको सम्बन्धलाई निकट बनाउने कार्य गरे) लगायत जनप्रतिनिधि र स्थानीय प्रति आभारी छु ।
सम्मान कार्यक्रममा तपाईंहरू जति खुसी देखिनुहुन्थ्यो, मैले त्योभन्दा निकै बढी खुसी महसुस गरिरहेको थिएँ । यो सम्मानले मान्छेको जीवन र जन्मभूमिको सम्बन्धको महत्व गहिरोसँग अनुभूति गराएको छ ।
आफ्नो जन्मथलोमा पाएको यो अपार माया र स्नेहले भावुक पनि भएँ । आफ्नो बाल्यकाल र सँगै खेली हुर्केको साथीसंगीसँग छुट्टिएको कुराले पिरोल्यो । निजगढ नगरपालिका, निजगढ उद्योग वाणिज्य संघ, निजगढ टाइम्सलगायत सम्पूर्ण आयोजक टिम र निजगढ वासीहरूले मप्रति व्यक्त गर्नुभएको यो सद्भावका निमित्त हार्दिक नमन । फेरि पनि यहाँहरूसँग नजिक हुन पाएर हर्षित छु ।
प्रतिक्रिया