मुहान सफा हुँदाहुँदै तल रछान बन्न सक्छ
मचानमा बस्नेको जुठेल्नो बढेपछि के सफा हुन सक्छ ?
मुहान नै रछानको अवस्थामा तल के बाँकी हुन्छ ?
फगत लुटपाटको लुछाचुँडीमा राजकाज अडेको हुन्छ ।
फोहोर पानीको आहालमा भैँसी रमाएजस्तो
रमाएका यी मनुवाको हरेकपटकको उद्घोष –
फोहोर गर्दिन र फोहोर हुन दिन्न
यिनको प्रतापबाट जति पोहोर बढेको
त्यति फोहोर पानीमा माछा मार्नेहरू बढेका ।
हाँस्ने हँसाउने जिब्रो चलाएर कति चिप्ल्याउँदै जाने ?
फटाहा कुराको भारी कति बोकाउँदै जाने ?
अमृत त धेरै खायो भने विष हुन्छ भने
कतिन्जेल यो मन्द विषाक्तता खुवाउँदै जाने ?
वागमतीको मुहान वागद्वार फोहोर बनेको छैन
काठमाडौं झरेपछिको बग्ने बाटो आधा मिचेर खाए
खाँदै छन्, अझै बनाए खाने चाँजोपाँजो
अनि अपवित्र, होइन, दूषित बनाउँदै गए
जहाँ शासनको वागद्वार नै फोहोर छ
त्यहाँ के होला जनजीविका ?
मुहान फोहोर पार्ने यी आफैँ
पानीमाथिको ओभानो बनेका ।
कालिकोटमा यी सब मिली बनाए
पिलीको भ्यु टावर
दमकको चमक डाँडामा देखाउने विकासको पावर
धान फलाउने होइन भ्यु टावरमा भन्छन् यी
अर्बौं अर्बको भ्यु टावरले खै के फलायो मुलुकमा ?
चोर बाटोबाट होस् या बाटो छलेर
खेतहरू बाँझो राखेर भ्यु टावरबाट डाँडो देखाउने
विकासको एक मात्र एजेन्डा बोकेका
‘कानुनसम्मत भ्रष्टाचारविद्’को परिकल्पना
अनायास महाकविले भनेको सम्झिए –
‘फ्याँक, उखेल चुकुल !’
हो, अब त नफ्याँकी भएन यी चुकुल
प्रतिक्रिया