देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार : समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार

देशान्तर


काठमाडौं । प्राकृतिक रूपमा सुन्दर, ठण्डा हावापानी, ग्रामीण परिवेश र सामाजिक, सांस्कृतिक, आर्थिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण एवं कृषि र पशु विकासको दृष्टिले पनि प्रचुर सम्भावना बोकेको एउटा स्थानीय तह हो, रामेछाप जिल्लाको रामेछाप नगरपालिका । रामेछाप जिल्लाको दक्षिण–पूर्वमा अवस्थित यस नगरपालिका विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारीको रूपमा मानिसहरूको मिश्रित बसोवास रहेको छ । सहिद गंगालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठको जन्मस्थान भंगेरी यसै नगरपालिकामा पर्छ । रामेछाप नगरपालिका, रामेछाप जिल्लाको पुरानो सदरमुकामको रूपमा चिनिन्छ । यस नगरपालिकाको पूर्वतर्फ ओखलढुंगा जिल्ला, दक्षिणतर्फ सिन्धुली जिल्ला छ भने उत्तरतर्फ लिखु गाउँपालिका र पश्चिमतर्फ मन्थली नगरपालिका रहेको छ । साविकका गाउँ विकास समितिहरू रामेछाप, सुकाजोर, गोठगाउँ, देउराली, साँघुटार, हिमगंगा र रामपुर समायोजन गरी यो नगरपालिका गठन गरिएको हो । २०२ दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा नौवटा छन् । यस नगरपालिकाको केन्द्र रामेछाप बजारमा छ ।


केन्द्रले प्रयोग गर्दै आएका वित्तीय, प्रशासनिक, राजनीतिक अधिकारहरू विकेन्द्रीकरणको मर्म र भावनाअनुसार निक्षेपण गर्दै आइरहेका हुन्छन्, स्थानीय तहहरूले । स्थानीय तहहरूको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका साथै सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन्, स्थानीय तहहरूले ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार : समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार तयार पार्ने मुख्य ध्येयका साथ यस रामेछाप नगरपालिकाले काम गरिरहेको छ । यस नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै नतिजामूलक छन् ।


रामेछाप नगरपालिकाले नतिजामूलक र दिगो विकास लक्ष्य हासिल गर्न स्रोत साधनको उपलब्धता र स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा नगरको समग्र पूर्वाधार विकासलाई अगाडि बढाउँदै आएको छ । समुन्नत नगरको रूपमा विकास गर्ने दीर्घकालीन योजनासहित अगाडि बढेको छ यस स्थानीय तह । अधुरा र क्रमागत पूर्वाधार विकास आयोजना र कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको छ । रामेछाप नगरपालिकाको वडा नं. ८ रामेछाप बजार हुँदै भालुखोप, गणेशटार, वडा नं.२ देउराली सहिदगेट, वडा नं. १ गोगने रातोडाडा, चण्डेश्वरी बडा नं. ३ सुवेदीटोल, साँघुटार, वडा नं. ४ बसेरी लिखु करिडोर वडा नं. ५ कोलोञ्जोरघाट, मरिनघाट, ल्याङल्याङ, भीमसेनथान हुँदै रामेछाप बजारसम्मको सडकलाई नगरस्तरीय चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको र सो सडक निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग अनुरोध समेत गर्दै आएको छ यस स्थानीय तहले । साथै सुनकोशी करिडोर सडकलाई नगर गौरवको योजनाको रूपमा अघि बढाएको छ ।


रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको ‘हिलेपानी–चाम्बोट–च्यास्कु, कोलञ्जोरघाट सडक स्तरोन्नतिको लागि संघीय सरकार तथा बाग्मती प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त नभए तापनि क्रमागत आयोजनाको रूपमा उक्त सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको छ यस स्थानीय तहले । यस नगरपालिकाले स्थानीय स्तरमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न वडा नम्बर १ मा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई प्रशासकीय केन्द्र मानी आसपासका विद्यालयहरूलाई समेत मिलाई सुविधासम्पन्न मेघा विद्यालय सञ्चालनको अवधारणा ल्याएको छ । अन्य सबै वडाहरूमा यस अवधारणालाई लागू गर्ने योजनामा यस स्थानीय तह रहेको छ । विद्यालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधार विकास कार्यक्रम र प्राविधिक शिक्षा कार्यक्रमलाई समेत यस नगरपालिकाले निरन्तरता दिइरहेको छ ।


यस नगरपालिकाले साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा विकास गर्दै सबै बर्थिङ सेन्टरहरूलाई व्यवस्थित गरिनुका साथै गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । जिल्ला अस्पताल रामेछापमा विशेषज्ञ चिकित्सक सेवा र आँखा सेवाका लागि निरन्तरता दिँदै सबै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै आएको छ । आफ्नो स्रोतसाधनले भ्याएसम्म सार्वजनिक निजी साझेदारी नीतिअनुसार प्राथमिकताका साथ समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसअनुसार खाद्यान्न, फलफूल, तरकारी, मसला र पशुपालनको व्यावसायिक उत्पादनका लागि पकेट क्षेत्र विकास गर्दै आएको छ । यस नगरपालिकाको वडा नं १ मा कफी, चिया, अदुवा, बेसारलगायत मसला खेती, वडा नं २ मा माहुरी पालन र तरकारी खेती, वडा नं ३ मा धान र माछा, वडा नं ४ र ५ मा दलहन, गेडागुडी र बाख्रा पालन, वडा नं ६ र ७ मा जुनार र तरकारी खेती, वडा नं ८ मा कुखुरा पालन तथा तरकारी खेती र वडा नं ९ मा बाख्रा पालन व्यवसाय गर्ने गरी एक वडा एक कृषि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


यस नगर क्षेत्रभित्र रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र तथा पूर्वाधारहरूको संरक्षण, प्रवद्र्धन तथा सञ्चालनका लागि पनि यस स्थानीय तहले काम गर्दै आएको छ । समग्र पर्यटकीय विकासका लागि आधारभूत पूर्वाधारहरूको विकास गर्दै आइरहेको छ, यस नगरपालिकाले । ताराखसे पोखरी, केवलेश्वर महादेव मन्दिर, डुकुरसिंह डाँडा, थानी डाँडा, भालुखोप भ्युटावर, गणेशटार, थरहरी डाँडा, तिल्केस्थान गढी, उदयनारायण तथा वितिटार पार्क, कालिका निशान भगवती मन्दिर, भिमसेनथान ल्याङल्याङ, १६ भगवती तथा मनकामना मन्दिर हिमगंगा, सिम्ले बालकन्यादेवी मन्दिर, मानेडाँडा, कालिका देविस्थान, लोपोन्मुख हायू जातिको महाकाली देवी मन्दिर आदि रहेका छन् यस नगर क्षेत्रभित्र । यी धार्मिक तथा पर्यटकीय स्थलहरूमा पूर्वाधारहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको छ, यस स्थानीय तहले । महिला, बालबालिका, अशक्त, अपांग, दलित, आदिवासी जनजाति, पिछडिएको वर्ग र अति गरिब तथा सीमान्तकृत समुदायको विकासमा स्रोत साधनलाई यथोचित विनियोजन गर्दै आइरहेको छ, यस नगरपालिकाले । नगरपालिका सञ्चालन कार्यविधिमा भएको व्यवस्था र नगरपालिकाको स्रोत र साधनको सीमाभित्र रही आदिवासी जनजाति, दलित, ज्येष्ठ नागरिक, महिला एवं बालबालिका लक्षित विकास निर्माण कार्यक्रम एवं चेतनामूलक, सीपमूलक र रोजगारमूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइरहेको छ, यस नगरपालिकाले ।


सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रूपमा अंगीकार गरी त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ । सेवा प्रवाहलाई चुस्त, दुरुस्त , छिटो, छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै आएको छ । पर्याप्त स्रोतसाधनको अभाव, भौगोलिक विकटता, सुख्खाग्रस्त क्षेत्र र अत्यधिक मागका कारण सबै माग र आकांक्षा पूरा गर्न नसके पनि स्थानीय जनताको आवश्यकता, चाहनाअनुसार विकासलाई गति दिइरहेको छ, रामेछाप नगरपालिकाले ।