काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई निवेदन दिँदै आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।
लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् । लामिछानेले आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अनुसन्धान भइरहेको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।
उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया