काठमाडौं । एक बिमीतको बिमा दाबी भुक्तानी दिन आनाकानी गर्दै आएको सूर्यज्योति लाइफ इन्सुरेन्सविरुद्ध उच्च अदालत पाटनले बिमा दाबी भुक्तानी तत्काल उपलब्ध गराउन आदेश दिएको छ ।
भक्तपुरका अंगद खड्काले सूर्यज्योति लाइफ इन्सुरेन्सबाट १० लाखबराबरको बिमा गराएका थिए । बिमा गरेकै अवस्थामा गम्भीर रोग लागेर ओछ्यान परेका उनले दाबी भुक्तानी माग्न जाँदा बिमा कम्पनीबट उल्टै मुद्दा खेप्नुपर्यो । मामिला गरेर मानसिक यातनासहितका दुःख दिने सुर्यज्योति लाइफका विरुद्धमा पाटन उच्च अदालतले सोमबार आदेश जारी गरेको छ ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कृष्णराम कोइरालाको संयुक्त इजलासले बिरामी अवस्थाका बिमीत अंगद खड्कालाई १० लाख रुपैयाँ दाबी भुक्तानी तिर्न आदेश दिएको हो । इजलासले दाबी भुक्तानी तिर्न आदेश दिएसँगै सूर्यज्योति लाइफले खड्कालाई १० लाख भन्दा बढी रकम भुक्तानी गर्नुपर्नेछ ।
सूर्यज्योति लाइफले खड्कालाई तीन वर्षदेखि दाबी भुक्तानी नदिई दुःख दिँदै आएको थियो । साथै मुद्दा समेत लगाएर थप दुःख दिएको थियो । एजेन्टले भने अनुसार बिमा गरेका खड्काले सूर्यज्योति लाइफमा बिमा गराउँदा जीवनकै अप्ठेरो र दुःखदायी अवस्थामा पनि कम्पनीबाट मुद्दा मामिला खेपेर थप सास्ती र हैरानी भोग्दै आएका थिए ।
नियामक नेपाल बिमा प्राधिकरणले २०८० असोज ८ गते फैसला गर्दै सूर्यज्योति लाइफमा बिमा गरेका खड्काले दाबी भुक्तानी पाउनुपर्ने ठहर गरेको थियो ।
बिमा प्राधिकरणको फैसलासमेत अस्वीकार गर्दै उल्टै घातक रोग लागेर ओछ्यानमा परेका बिमीतका विरुद्धमा मुद्दा लिएर उच्च अदालत पाटनमा पुगेको सूर्यज्योति लाइफको मुद्दामाथि हिजो सोमबार सुनुवाइ भएको थियो । सो मुद्दामाथि अन्तिम फैसला भएसँगै अब बीमित अंगद खड्काले न्याय पाउने भएका छन् ।
सूर्यज्योति लाइफले घातक रोगबाट ग्रसित बिमित खड्काविरुद्ध ०८० पुस १८ मा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको अन्तिम किनारा लागेसँगै कम्पनीले कम्तीमा १० लाख रुपैयाँमा ब्याज समेत थपेर भुक्तानी गर्नुपर्ने भएको छ ।
उता, उच्च अदालत पाटनबाट मुद्दा जितेपछि खुसी व्यक्त गर्दै खड्काले भने, ‘तीन वर्षसम्म असाध्यै दुःख पाएको थिएँ आज न्याय पाएको छु ।’
खड्काले कम्पनीले अनावश्यक दुःख दिएर बिमीतलाई हैरानी पारेको दुःखेसो पोख्दै आमबिमीतहरूलाई सचेत हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया