देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा-हजाम किन बेहोस भयो ?




‘देशान्तर साप्ताहिक’का प्रिय पाठकहरू, केही समयअघि मैले एक प्राचीन कथामा एउटा राजाको कुरा सुनाएको थिएँ । राजामा सारा गुण र सम्पन्नता थियो । तर ऊ सधैँ अर्थात् गर्मी होस् वा जाडो एउटा लामो टोपी लगाउँथ्यो । यसको कसैलाई पत्तो थिएन, राजा यो विचित्र टोपी सधैँ किन धारण गर्दथ्यो । के उसलाई कुनै श्राप थियो ? कि उसलाई गर्मीमा पनि शीतलहरको आक्रमण हुन्थ्यो ?


अब त उसको प्रजालाई पनि उसको बानी परिसकेको थियो । उनीहरूलाई पनि त्यसको बानी परिसकेको थियो ।
एकदिन राजाले कपाल काट्न भनेर दरबारमै काम गर्ने हजामलाई बोलायो र आफ्नो कपाल काट्न अह्रायो ।
दरबारबाट फर्कनासाथ हजाम घरमा आएर डंग्रंग लडेर बेहोस भयो ।
अब त्यसपछिको कथा यसरी अघि बढ्छ । हजाम बेहोस भएपछि उसकी स्वास्नीले उसको मुखमा पानी छम्की । पंखा हम्की । धेरै बेरपछि हजामले आँखा उघा¥यो । चारैतिर हे¥यो । ऊ आफ्नै घरमा थियो । ऊ बिउँतेको त थियो, तर उसको अनुहारमा त्रासको भाव थियो ।


यो देखेर उसकी स्त्री बेलीले सोधी– ‘होइन, के भयो तपाईंलाई ? दरबारबाट आउनासाथ मुर्छा पर्नुभयो । अझै पनि तपाईंको स्वास्थ्य चंगा देखिँदैन । तपाईंको अनुहार डरले पहेँलो भएको छ । किन डराउनुभएको ? अब त आफ्नो घरमै हुनुहुन्छ, अनि के को डर ?’
हजामले मसिनो स्वरमा भन्यो, ‘बेली मलाई थाहा छ, म आफ्नो घरमा छु र सुरक्षित छ, त्यसमाथि तिमी नजिक भएपछि मलाई के को डर ?’
‘अनि किन त फेरि ?’
हजामले भन्यो, ‘मैले आज एउटा यस्तो रहस्य थाहा पाएँ, जुन अचम्म र असम्भव करा हो, तर यथार्थ हो ।’
बेलीले सोधी, ‘मलाई भन्नुस् न, के हो त्यो रहस्य ? यसले तपाईंको मन हलुको हुन्छ ।’
‘त्यो कुरा म तिमीलाई बताउन असमर्थ छु ।’
बेलीले भनी, ‘त्यस्तो के कारण छ र तपाईं आफ्नी सुखदुःखकी साथीलाई समेत बताउन असमर्थ हुनुहुन्छ ?’
हजामले भन्यो, ‘तिमी मेरी सुख दुःखकी साथी हौ, यसमा सन्देह छैन । तर यो कुरो कसैलाई भने राजाले शिर काट्छु भनेको छ ।’


बेलीले भनी, ‘राजाले शिर काट्छु भनेको छ भने त्यो ठूलै कुरा हुनुपर्दछ । तर, जति गोप्य कुरा भए पनि, तपाईंको यस्तो अवस्था म देख्न सक्दिनँ । मलाई भन्नुस्, म कसैलाई नभन्ने प्रण गर्दछु ।’
यसरी तपाईंको मन पनि हलुको हुन्छ । हजामले तै पनि त्यो रहस्य बताएन । ऊ दुई दिनसम्म घरबाहिरै निस्केन । तेस्रो दिन उसले आफ्नी स्वास्नीलाई बोलायो र आफ्नो छेउमा बसायो । भन्यो, ‘म पनि अब तिमीलाई नभनिरहन सक्दिनँ । मेरो मनमा यति छटपट छ, राजाले प्राण लिएन भने पनि मेरो मनको उकुसमुकुसले नै मेरो प्राण हर्छ । त्यसकारण म तिमीलाई म भन्छु, त्यो रहस्य ।’ यति भनेर उसले आफ्नी स्त्रीको टाउको तानेर उसको कान आफ्नो नजिक ल्यायो र साउतीको स्वरमा भन्यो । उसले कामिरहेको आवाजमा भन्यो केवल यति ‘राजाको बाख्राको कान ।’


स्वास्नी झस्की हँ ? राजाको बाख्राको कान ? अब रहस्य खुलेको थियो, राजाको कान मानवको जस्तो नभएर बाख्राको जस्तो लामो थियो, त्यसकारण ऊ चौबीसै घन्टा कानेटोपी लगाउँदो रहेछ । यस्तो के कारणले भएको थियो त्यो राजालाई समेत ज्ञान थिएन । राजा बाख्राको कान देखाएर त हिँड्न सक्दैनथियो, त्यसकारण उसले टोपी लगाएर कान ढाक्नु उचित ठानेको थियो ।
अब राजाबाहेक यो रहस्य बाहिरका दुई अन्य व्यक्तिलाई पनि ज्ञान भएको थियो ।
राजालाई शंका थियो, हजामद्वारा यो हास्यास्पद कुरा बाहिर प्रकट हुनसक्छ । त्यसकारण उसले आफ्ना गुप्तचरहरू हजामको घरवरिपरि निगरानी राख्न भनेर नियुक्त गरेको थियो । यो कुरो हजामलाई पनि थाहा थियो । ती गुप्तचरले हजाम, कहाँ जान्छ, कोसँग भेट्छ आदिको विचार राख्न थाले ।


हजाम भने स्वास्नीलाई रहस्य बताएपछि चिन्तामुक्त भएको थियो । ऊ अब गुप्तचरहरूको बेवास्ता गर्दै आफ्नो दैनिक कार्य यथावत् गर्न थाल्यो ।
हजाम त चिन्तामुक्त थियो । तर, उसकी स्वास्नी बेली भने, त्यो रहस्य थाहा पाएदेखि पिरलिन थाली । उसलाई उकुसमुकुस हुन थाल्यो । उसको दिनको चैन र रातको निद्रा हरायो । उसको अनुहारको रङ उड्यो । कसैलाई भन्न पनि सक्दिन, रहस्य पचाउन पनि सकिरहेकी थिइन । उसको पेट फुलेर घ्याम्पोजत्रो भएको थियो । उसका सखीहरू सोध्थे के भयो ? तर ऊ जवाफ दिन सक्दिनथिई ।


केही समयमा उसलाई असह्य भएपछि एकदिन ऊ जंगलमा स्याउला काट्न जाँदा उसलाई एउटा उपाय सुल्झ्यो ।
वरपर सतर्क भएर हेर्दै ऊ एक अजंगको रुखनेर गई । चारैतिर हेरी अनि रुखको अघिल्तिर उभिएर भनी– ‘राजाको बाख्रोको कान ।’
त्यति भन्नासाथ उसलाई हलुको भई उसको फुलेको पेट बस्यो । ऊ राम्ररी निदाउन र खान सक्ने भई । एकदम चंगा स्वस्थ भई । कालान्तरमा एकपटक राजाको दरबारमा वार्षिक समारोह थियो । दरबारअघिल्तिरको ठूलो चउरमा भारदार प्रजा जब सारा त्यो समारोह हेर्न आएका थिए । संगीतको कार्यक्रम थियो । संगीतकारहरू आ–आफ्ना साजबाज लिएर उपस्थित भएका थिए । गायकहरू गाउन थाले, सजिन्दाहरू साज बजाउन थाले ।


त्यसैबखत एक अचम्म भयो । साजिन्दाहरूमध्ये एउटाले मादल ल्याएको थियो । ऊ मादल बजाउन थाल्यो । तर, यो के भयो ? मादललाई जति तालमा बजाए पनि त्यसबाट एउटै ध्वनि स्पष्ट निस्किन्थ्यो– ‘राजाको बाख्राको कान, राजाको बाख्राको कान ।’ मादल बजाउनेले जति गरे पनि समाल्न सकेन र त्यसबाट एउटा आवाज आइरहेको थियो– ‘राजाको बाख्राको कान, राजाको बाख्राको कान ।’
अब त्यो रहस्य सार्वजनिक भएको थियो । त्यसकारण राजाले पनि आफ्नो कान लुकाउने आवश्यकता बनेन । वास्तवमा त्यो मादल त्यही रुखको मुढोबाट बनाइएको थियो, जुन रुखअघिल्तिर बेलीले बोलेकी थिई– ‘राजाको बाख्राको कान ।’