काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर समेतको मुद्दाका प्रतिवादी करिब ७० दिनयता कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अदालती बयान सकिएसँगै अब मुद्दा थुनछेकको बहस र आदेश हुने चरणमा प्रवेश गरेको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबार सकिए पनि नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको बयान बाँकी रहेकाले सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । उनीहरू अहिले कास्की प्रहरीको हिरासतमा छन् । आज आइतबारदेखि उनीहरूको बयानले निरन्तरता पाउनेछ ।
कास्कीका जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा केन्द्रित रहेर इजालसमा प्रश्न गरिएको थियो । उनले सहकारीको रकम ठगीमा गितेन्द्रबाबु राई जिम्मेवार रहेको र आफ्नो कसुर नरहेको इन्कारी बयान दिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा गत शुक्रबार र आइतबार गरी ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ भने लामिछाने, छविलाल जोशी रामबहादुर खनाल, र लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रूपैयाँ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा झन्डै २८ करोड बिगो कायम गर्दै मुद्दा दायर भएको छ । बयानपछि थुनछेक बहससँगै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश हुनेछ ।
प्रतिक्रिया