देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियु निर्वाचन होला !

देशान्तर


काठमाडौं । कुनै बेला राजनीतिक परिवर्तनका मुद्दाहरूमा प्रभावशाली भूमिका निर्वाह गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को साख पछिल्ला वर्षहरूमा भने धुमिल बन्दै गएको अवस्था छ । खास गरेर २०६५ सालपछि स्ववियु निर्वाचन नियमित नभएपछि अहिले यसको अस्तित्व नै संकटमा पर्न थालेको छ । २०६५ देखि अहिलेसम्मको अवधिमा फाट्टफुट्ट केही क्याम्पस तथा विश्व विद्यालयहरूमा चुनाव भए पनि सबैमा नियमित हुन नसक्दा यसप्रति वितृष्णा बढ्दै गइरहेको अवस्थामा अहिले फेरि मुलुककै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी थालेको छ । आगामी फागुन १५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिविले तयारीलाई तीव्र पारेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताउँदै त्रिविले शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको जानकारी दिए । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी संगठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए पनि निर्वाचनको संशय भने कायमै रहेको बुझिएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक वडालले स्ववियु निर्वाचनको तयारी आफ्नो संगठनले गरिरहेको जानकारी दिँदै स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पार्नका लागि उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा स्ववियु घोषणापत्र तयारी कमिटी गठन गरिएको पनि जानकारी दिए । अध्यक्ष वडालले स्ववियु निर्वाचन लागि संगठनले यही पुस २५ र २६ गते अनेरास्ववियुका जिल्ला अध्यक्ष भेला र आगामी माघ ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक नै बोलाइसकेको बताए ।


यस्तै नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाइसकेको जानकारी दिएका छन् । उनले सबै क्याम्पसमा संगठन विस्तारका साथै स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिएको उल्लेख गरे ।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले क्याम्पस कमिटीलाई स्ववियु निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेको बताइन् । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा सम्पन्न भएको थियो । त्यतिबेला नौवटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ । अर्को सरकारी विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयमा पनि त्रिविकै मितिमा स्ववियु निर्वाचन हुने गरेको थियो । नेसंविमाका १२ आंगिक तथा १० सम्बन्धनप्राप्त क्याम्पस छन् । ०६५ यता नेसंविमा पनि स्ववियू निर्वाचन नियमित हुन सकेको छैन ।
स्ववियु निर्वाचनलाई कुनै समय नेता उत्पादन हुने नर्सरी मानिन्थ्यो । आमरूपमा प्रभावशाली, पढाइमा तेज र जेहेनदार विद्यार्थीहरूले यसको नेतृत्व गर्थे । कांग्रेसका गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डेलगायत नेता स्ववियूकै उत्पादन हुन् । एमालेका योगेश भट्टराई, ठाकुर गैरेलगायत पनि स्ववियूबाटै माथि उठेका नेता हुन् ।
पछिल्लो केही वर्षदेखि स्ववियु राजनीति मात्रै गर्ने अखडाजस्ता हुन थालेको भन्दै आलोचना पनि भइरहेको छ । अहिले पढाइमा अब्बल विद्यार्थी यसबाट भाग्न थालेका छन् ।

समयमा स्ववियु निर्वाचन नहुँदा शैक्षिक मुद्दा र विद्यार्थी राजनीति कमजोर मात्रै भएको छैन युवा विद्यार्थीहरूलाई राजनीति प्रति आकर्षित गर्न पनि असफल भइरहेको छ । स्ववियु निर्वाचन नियमित नहुँदाको परिणाम युवाहरूमा राजनीतिप्रति वितृष्णा बढेको विश्लेषकहरू नै बताउने गर्छन् । स्ववियु ‘मिनी संसद्’को रूपमा रहेकाले हरेक कुरामा युवा विद्यार्थीलाई अघि बढाउनका लागि यो उपयुक्त माध्यम बन्न सक्छ ।