देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सय दिने अभियानको समयावधि लम्बियो

देशान्तर


काठमाडौं । आफ्नो सांगठनिक गतिविधि प्रभावकारी बनाउन नेपाली कांग्रेसले असोज ७ गतेदेखि सुरु गरेको ‘१०० दिने विशेष अभियान’को समयावधि एक महिना थप गरेको छ । यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरेको हो । केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विभिन्न कारणले केही जिल्लामा तोकिएका कार्य सम्पादन हुन नसकेका कारण सहिद दिवसका दिन माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो ।


जिल्लाहरूमा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायत सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा सांगठनिक रूपले गर्न÷गराउन सबै कार्यहरू व्यवस्थित रूपले अगाडि बढाउन कांग्रेसले निर्देशसमेत गरेको छ । पार्टीको आन्तरिक कार्य गर्ने गरी ७७ जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । केन्द्रीय प्रतिनिधिहरूले पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण÷नवीकरण, नियमित बैठकलगायत कामहरू गर्दै आएका छन् । कांग्रेसले १०० दिने अभियानमार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधानबमोजिम नियमित बैठक÷सम्मेलन नभएको भएर कारणको खोजी गरी समस्या समाधान गर्न कांग्रेसले निर्देशन दिएको छ । संगठनमा भएको विवाद समाधान गर्ने गरी तोकिएका प्रतिनिधिले स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्नुपर्ने हुन्छ ।


स्थानीय सरकार र पार्टीको वीचमा समन्वय हुन नसक्नुको कारण समेत केन्द्रीय प्रतिनिधिले पहिचान गरेर कार्यादेश तयार गरिदिनु पर्नेछ । सांगठनिक कमजोरीको पहिचान गरी प्रतिनिधिले आफ्नो तहबाट गर्नसक्ने समाधान निकाल्नुपर्दछ । जिम्मेवारी लिएर गएको व्यक्तिले सम्बन्धित कार्यसमिति, सभापति वा केन्द्रबाट शीर्ष नेता बोलाएर भए पनि विवाद समाधान गरी फर्कन कांग्रेसले निर्देशन दिएको छ । सय दिने अभियान सकेर आएपछि केन्द्रीय प्रतिनिधिहरूले जिल्लागत प्रतिवेदन पेस गर्नुपर्नेछ । प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरूको ढाँचा समेत दिएर कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाएको छ ।