नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने, तर कम बोल्नेले अरूलाई सिध्याउने टिप्पणी गरेका छन् । देउवाले महामन्त्री गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति धेरै नबोल्ने भन्दै उनको समय पनि लिएर केही बढी बोलेका थिए । गगनलगत्तै सम्मेलनलाई सम्बोधन गर्दै देउवाले गगनप्रति कटाक्ष गरेका हुन् ।
सम्बोधनका क्रममा देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले राजनीतिक स्थायित्वका लागि गठबन्धन महत्वपूर्ण रहेको बताए
तीन तहको संरचनामध्ये सबैभन्दा महत्वपूर्ण संरचना स्थानीय तह भएकाले स्थानीय तहमा बलियो हुने पार्टी मात्रै बलियो हुने स्पष्ट पार्दै स्थानीय तहमा मिहिनेत गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस ऋणको विरोधी नभएको स्पष्ट पार्दै देउवाले अन्य देशहरूबाट ऋण नलिने गरेकाले बिआरआईअन्तर्गतका परियोजनामा ऋण लिन नहुने अडान लिएको स्पष्ट पारे ।
पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, सबैलाई मिलाउनुपर्छ : गगन
कांग्रेस महामन्त्री गगन थापाले विराटनगरमा समानान्तर भेला आयोजना गर्ने शेखर कोइराला पक्षको कदमप्रति असन्तुष्टि व्यक्त गरे । महामन्त्री थापाले यस्ता भेलाहरू पार्टीसँग संयोजन नगरी गर्न नहुने बताए ।
टेक्निकल कुरा गरेर पार्टीभित्र एकता हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ, पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ ।’
‘केही समयअघि कास्की र रूपन्देहीका क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्दा केन्द्रको आयोजनामा गर्न सुझाब दिएको उनले स्मरण गरे । मंसिर १८ मा कोइराला पक्षले आयोजना गरेको पालिका सभापतिहरूको भेलाप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । सभापतिसँग अहिले पनि आफ्नो कति कुरा नमिल्ले गरेको उल्लेख गर्दै उनले भने, ‘समेट्नु पर्छ भनिरहेका हुन्छौं । कराइरहेका हुन्छौं । तर, यसो भन्दै गर्दा आफ्नो भागमा परेको कामको जिम्मा पनि त लिनुप¥यो ।’
निर्देशन समिति पनि ६०–४० को भागमा बनेको बताउँदै थापाले भने, ‘काम गर्छु भनेर भाग लाएपछि जिम्मा लिनुपर्छ । ६० सभापतिको जिम्मा हो भने ४० भाग लिनेले पनि जिम्मा त लिनुपर्छ ।’ सम्मेलनलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले बीआरआई सहकार्य सत्तारुढ दलहरूबीचको सहमतिमै भएको बताए । यो सम्झौता नेपाली कांग्रेसको धारणा, सल्लाह र सहमति अनुसार भएकाले यसमा अन्यथा सोच्न जरुरी नरहेको उनकोे दाबी छ । बीआरआईमा ऋण लिने बाटो खुला राखेर सहमति गरेको भन्दै कांग्रेसभित्र आवाज उठिरहेको बेला गृहमन्त्री लेखकको यस्तो अभिव्यक्ति आएको हो ।
कोशीबाट शेखरको विद्रोह
पार्टी केन्द्रले आयोजना गरेको कोसी भेला बहिष्कार गरेर नेता शेखर कोइराला भने शनिबार चितवनतिर लागे । मंसिर २१ गते नै सूचना जारी गरेर कोइरालाका स्वकीयसचिव दिनशचन्द्र थपलियाले कोइराला चितवनका दुई ठाउँमा शोकसभामा जाने जानकारी गराएका थिए । सूचनामा उनले कोइराला मंसिर २२ गते १२ः३० बजे चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनीको शोकसभामा सहभागी हुने र दिउँसो १ः३० बजे कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व. भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने जानकारी गराए । कोसी भेलाको पूर्वसन्ध्यामा जारी उक्त सूचनाको अन्तर्य आफ्ना समर्थकलाई उक्त भेलामा नजानका लागि गरिएको आह्वानका रूपमा बुझ्न कठिन छैन ।
नेपाली कांग्रेस केन्द्रले २२ मंसिरका लागि राखेको कोशी प्रदेश सम्मेलनको चार दिनअघि अर्थात् १८ मंसिरमा केन्द्रीय समितिको निर्देशनविपरीत डा शेखर कोइराला समूहले कोशी प्रदेश भेला ग¥यो । कोइराला पक्षले १८ मंसिरका लागि भेला बोलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सोमबार कोशी प्रदेश समितिलाई पत्राचार गर्दै २२ मंसिरअघि पार्टीको कुनै भेला नभएको र सोही जानकारी जिल्लामा गराउन निर्देशन दिएका थिए ।
विराटनगरको जैन भवनमा आयोजित कोइराला समूहको कोशी भेलामा उक्त प्रदेशका १ सय ३७ मध्ये १ सय १३ पालिकाका सभापति सहभागी भए । उक्त भेलामा काठमाडौं, ललितपुर, पोखरा र वीरगन्ज महानगर समितिका सभापति पनि उपस्थित थिए । कांग्रेस संस्थापन पक्षले वैधानिकता दिन अस्वीकार गर्दागर्दा भेला गरेपछि कोशी कांग्रेस मात्र होइन, देशैभर कांग्रेस विवाद थप पेचिलो हुने देखिएको छ । कोइराला समूहको कोसी भेलालाई कांग्रेसको आगामी महाधिवेशनको दबाबका रूपमा पनि हेरिएको छ । संस्थापन पक्षमात्र होइन, उक्त भेला रोक्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रयास गरेको कांग्रेसका मुख्य सचिव पौडेलको दाबी छ । महानगर समितिले महानगरस्तरीय कार्यक्रम आयोजना गर्न पाउने व्यवस्था विधानमा भए पनि पालिका सभापतिहरूको प्रशिक्षण आयोजना गर्न नमिल्ने पौडेलको जिकिर छ ।
शेखरको गृह प्रदेश पनि भएकाले कोसीमा उनले बेलाबेलामा पार्टीको नीतिविपरीतका प्रयोग गर्दै आएका छन् । एमालेसँग मिलेर उनले कांग्रेससँग तत्कालीन गठबन्धनमा रहेको माओवादीका राष्ट्रियसभा सदस्यलाई हराएनन् मात्रै, गठबन्धनबाट मुख्यमन्त्री उम्मेदवार बनेका माओवादी संसदीय दलका नेतालाई हराएर आफ्नै समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन पनि एमालेकै सहयोग लिए । एमालेसँगको सत्ता सहकार्यपश्चात् शेखर समूहले पेलानमा परेको महसुस गरेको छ । कोसीको नयाँ सरकारमा आफ्नो पक्षका कोही नपरेपछि सो समूह थप रुष्ट बन्दै आएको छ । संस्थापन पक्षले केन्द्रमा मात्रै होइन, गृह प्रदेशमै पनि निरन्तर ‘कर्नरमा पार्ने काम’ भएको शेखर समूहको बुझाइ छ । त्यसैले उक्त समूहले समानान्तर गतिविधि देखाउँदै आएको छ ।
कोइराला समूहले कोसी मात्रै होइन सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा कार्यक्रम हुनसक्ने चेतावनी दिएको छ । मोरङ जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले त आफूहरूलाई किनारा पार्ने काम भएमा यस्ता गतिविधि देशैभर हुने चेतावनी दिएका छन् । आफ्नो पक्षले गुट भेला बोलाएको नभएर पालिका सभापतिहरूको प्रशिक्षण गरेको उनको तर्क छ । उनले भने, ‘यसलाई पोजेटिभ लिए ठिक छ, तलमाथि भए सातै प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै पालिका र ६ हजार ७४८ वटै वडामा यस्ता प्रशिक्षण कार्यक्रम आयोजना हुन्छ ।’ लिम्बूले यस्तो दाबी गरे पनि कोइरालाले पार्टीको भेला नै बहिष्कार गरेपछि उनको असन्तुष्टि झनै सतहमा आएको छ ।
प्रतिक्रिया