काठमाडौं । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले सम्पन्न नगरपालिका हो, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका । यो नगरपालिका साविकका ८ वटा गाविसहरू मथुरापाटी, फुलबारी, मेथिनकोट, कानपुर कालापानी, खनालथोक, पुरानोगाउँ दाप्चा, छत्रेबाँझ दाप्चा, डराउने पोखरी र श्यामपाटी सिमलचौर मिलाएर बनाइएको छ । यस नगरपालिकामा ११ वटा वडा छन् । यस नगरपालिकामा ऐतिहासिक स्थान नमोबुद्ध, दाप्चा, फुलबारी र भकुन्डेबेसीलगायत अधिकांश क्षेत्रमा कृषि, व्यापार र व्यवसायसम्बन्धी प्रचुर सम्भावनाहरू रहेका छन् । १०२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको पूर्वमा तेमाल गाउँपालिका, पश्चिममा धुलिखेल र पनौती नगरपालिका, उत्तरमा पाँचखाल र धुलिखेल नगरपालिका र दक्षिणमा रोशी र बेथानचोक गाउँपालिका रहेका छन् ।
धार्मिक धरोहर र धार्मिक पर्यटनको प्रबल सम्भावना बोकेको छ, यस नगरपालिकाले । नमोबुद्ध विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल रहेका कारण यस क्षेत्रमा पर्यटन व्यवसायको प्रबल सम्भावना रहेको हो । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो सशक्त अभियान’ भन्ने नाराका साथ यस नगरपालिकाले विकास निर्माणलाई तीव्रता दिँदै आएको छ ।
पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न नमोबुद्ध नगरपालिकालाई धार्मिक, पर्यटकीय नगरीमा रूपान्तरण गर्ने अभियानमा यस नगरपालिका रहेको छ । नगरपालिकाभित्र रहेका मठमन्दिर, धार्मिकस्थल, पर्यटकीयस्थल, सामुदायिक वन, खेल मैदान, होमस्टे, विभिन्न समुदायका जात्रा पर्व, भेषभूषा आदिको विभिन्न निकायको समन्वय र सहकार्यमा प्रवद्र्धन, विकास र संरक्षणमार्फत पर्यटन विकासको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको छ, यस नगरपालिकाले ।
शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै नगरक्षेत्रभित्रका विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै कामहरू गरेको छ । नगर क्षेत्रमा सामुदायिक विद्यालयहरूलाई पूर्ण रूपमा व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आइरहेको छ ।
यस नमोबुद्ध नगरपालिकाका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् । कृषिको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरण गरी आयआर्जनका लागि यस नगरपालिकाले प्रभावकारी काम गर्दै आइरहेको पाइन्छ । नेपाल जलवायु अनुकूलन गाउँ कार्यक्रम बजार क्षेत्रलाई लक्षित गरी ऊर्जा किफायती अन्न भण्डारण तथा प्रशोधन प्रविधिको उपयोग, व्यावसायिक तरकारी तथा फलफूल खेतीका लागि बजार प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य सम्पन्न गरिएको छ । यसै नगरपालिकाको वडा नम्बर ३ स्थित दाहालचौरमा करिब नौ करोडको लागतमा एक सय ८० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण कार्यलाई नगरपालिकाले निरन्तरता दिएको छ ।
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरू भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने, सहायक सडकहरूलाई ढलान, ग्राभेल गरेर स्तरोन्नति गर्ने कामहरू धमाधम भइरहेका छन् । सम्पूर्ण वडामा एक वडा एक पोखरी कार्यक्रम, एक वडा एक चौतारी कार्यक्रम पनि यस नगरपालिकाले सञ्चालन गरेको छ ।
युवाहरू विकासका धरोहर हुन् । युवा शक्ति परिचालनका लागि यस नगरपालिकाले काम गर्दै आएको छ । युवा स्वरोजगारअन्तर्गत युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिएको छ । यस नगरपालिकाले महिलाहरूलाई विभिन्न तालिमहरू सञ्चालन गर्दै छ । जसको कारण गाउँघरमा नै रोजगारीको अवस्था सिर्जना गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फड्को मारेको छ । नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र गुणस्तर सुधारका लागि यस नगरपालिकाले विशेष जोड दिँदै आएको छ । यस नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ ।
आफ्नै भवन रहेको यस नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस नगरपालिकाले । कर्मचारी प्रशासनलाई पारदर्शी, जवाफदेही, प्रतिस्पर्धी र उत्प्रेरित बनाउन क्षमता विकास, अनमान योग्य वृत्ति विकास र कार्य सम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गर्दै आएको छ यस स्थानीय तहले ।
यस नमोबुद्ध नगरपालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै जनताको भावना अनुकूल योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ, यस नगरपालिका ।
प्रतिक्रिया