काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन्। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट यस क्रममा झण्डै पाँच हजारजनाले हवाई यात्रा गरेका छन्।
एक महिनाको अवधिमा फ्लाई दुबईले सर्वाधिक उडान भरेको छ। फ्लाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाबाट १९ जनालाई दुबई लगेको छ ।
यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ। गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार सात सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार पाँच सय ३३ यात्रु भैरहवा ओर्लिएका छन्। साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार चार सय ६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए। एक महिनामा कूल एक सय ५६ उडान–अवतरण भएका विमानस्थलले जनाएको छ।
थाइ एयर एसियाले चार सय ४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ। महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यलेभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ।
प्रतिक्रिया