देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन

देशान्तर

काठमाडौ । इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ। ९९ वर्षीय राणा लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट ग्रस्त थिए ।

उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे देहावसान भएको हो। रक्तचापमा समस्या र अक्सिजनको कमी देखिनासाथ उनलाई अघिल्लो दिन बुधबार अस्पताल भर्ना गरिएको थियो।

आगामी चैत १५ गते उनको सय वर्षको जन्मदिन मनाउने तयारी भइरहे पनि उनलाई बचाउन नसकिएको परिवारको भनाइ छ। उनको बिहीबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।

इतिहासकार राणाको जन्म वि.सं. १९८२ चैत १५ मा काठमाडौंस्थित चारबुर्जा दरबार हाल निर्वाचन आयोग रहेको भवनमा भएको थियो । उनी नेपालका प्रथम फिल्ड मार्सल रुद्रशमशेरका नाति र कर्णेल ईश्वरशमशेरका छोरा हुन् । उनले भारतको जयनारायण कलेज, वाराणसीबाट उच्च शिक्षा हासिल गरेका थिए ।

उहाँ युवावस्था अर्थात् वि.सं. १९९७ सालदेखि नै प्रजातान्त्रिक भावनाबाट प्रेरित थिए । वि.सं. २००७ को आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसबेला उनी पश्चिम क्षेत्र कृष्णनगर र बहादुरगन्जमा हातहतियार खरखजाना र खाकी पोशाक आदि सरसामान भारतको बंगाल, उत्तर प्रदेश, विहार आदि प्रान्तबाट र नेपाल तराईतर्फका जमिन्दारहरूबाट रसद इत्यादि समेत मुक्ति सेनाका लागि मोर्चासम्म पुर्‍याउने कार्य गर्थे ।

स्वर्गीय श्री ५ त्रिभुवन नयाँ दिल्लीको हैदराबाद हाउसमा भारत सरकारको पाहुनाको रुपमा सवारी भएको बेला आफूले त्यहाँ गएर विभिन्न क्षेत्रका सन्देशहरू श्री ५ त्रिभुवनमा जाहेर गर्ने गरेको इतिहासकार राणा बताउने गर्दथे । खास गरी इतिहास लेखनमा नेपाली एवं अंग्रेजी दुवै भाषामा उहाँले कलम चलाउँदै आएका थिए ।

उनका श्री ३ हरूको तथ्य वृत्तान्त भाग १, २ र ३, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू, लुकेछिपेका प्रतिभाहरू, राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, मेरा जीवनका स्मृतिहरू, जंगबहादुर राणा : द स्टोरी अफ् हिज् राइज एन्ड ग्लोरी आदि पुस्तक प्रकाशित भएका छन् । उनका एक पुत्र र दुई पुत्री छन् ।