काठमाडौं । साबिक सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरूलाई समेटी स्थापना भएको राजधानी काठमाडौंको उत्तरपूर्वमा अवस्थित ५८.५० वर्ग किमि क्षेत्रफल ओगटेको नगरपालिका हो गोकर्णेश्वर नगरपालिका । यस नगरपालिकाको नामांकन हाल वडा नं. ४ मा अवस्थित श्री गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको हो ।
यस नगरपालिकाको पूर्वमा कागेश्वारी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला, पश्चिममा काठमाडौं महानगरपालिका, उत्तरमा नुवाक्त र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका पर्दछन् । हाल यस नगरपालिकामा नौ वटा वडा छन् । गोकर्णेश्वर नगरको समग्र विकासका लागि नेतृत्वदायी निकायको भूमिका निर्वाह गर्दै आइरहेको छ गोकर्णेश्वर नगरपालिकाले । भौगोलिक विविधता, आफ्नो छुट्टै मौलिकता, ऐतिहासिक धार्मिकस्थल र पवित्र बागमती नदीले सुशोभित नगरपालिका हो गोकर्णेश्वर नगरपालिका । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रूपले अनुपम, सुन्दर, मनोरम नगरी हो गोकर्णेश्वर ।
यस नगरपालिकामा टार, बेंसी, भिरपाखा, फाँट र जंगलको समिश्रण रहेको भूबनोट छ । अथाह प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ गोकर्णेश्वर नगरपालिका । प्रख्यात वागद्वार, गोकर्णेश्वर महादेव मन्दिर, प्राकृतिक सुन्दरताको अनुपम उपहार सुन्दरीजल, चामुण्डा मन्दिर, महांकाल मन्दिर, सहिद पार्क, उत्तरवाहिनी, बीपी संग्रहालय, विद्युत् गृह, मेलम्ची सुरुङ, मूलखर्क, सुन्दरीमाई, चिसापानी, पुरानो बस्ती देशेगाउँलगायत यस गोकर्णेश्वर नगरपालिकाका पहिचान र सम्भावना हुन् । गोकर्णेश्वर महादेवको भन्दा पुरानो मन्दिर नेपालमा अर्को फेला पर्न सकेको छैन । सबैभन्दा प्राचीन ग्रन्थ वेदमा समेत गोकर्णेश्वर महादेवको उल्लेख रहेको छ । वागद्वार, उत्तरगयालगायत यस नगरपालिका क्षेत्रभित्र धार्मिक हिसाबले प्रशस्तै स्थान छन् । विश्वमा नै सांस्कृतिक, धार्मिक, आध्यात्मिक र पर्यापर्यटनको क्रियाकलापहरूप्रति पर्यटकहरूको चाहना बढ्दै गइरहेको अवस्थामा गोकर्णेश्वर नगरसामु प्रशस्तै अवसरहरू रहेका छन् ।
यस नगरपालिकाका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दछ नै । गोकर्णेश्वर नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न पूर्वाधार तथा सुविधाहरू उपलब्ध गराउन आवश्यक व्यवस्था गर्दै आएको छ यस गोकर्णेश्वर नगरपालिकाले । यस नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । जोरपाटी चोकमा झन्डै चार रोपनी क्षेत्रफलमा यस नगरपालिकाको बहुउद्देश्यीय भवन बनिरहेको छ । नगरपालिकाका सबै नौ वटै वडा भवन निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
यस नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरू भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने, सहायक सडकहरूलाई स्तरोन्नति गर्ने कामहरू धमाधम भइरहेका छन् । विकासको पहिलो स्तम्भ शिक्षा हो । नगरको शैक्षिक क्षेत्रको सुधारका लागि गोकर्णेश्वर नगरपालिकाले अभियान नै सञ्चालन गर्दै आएको छ । जसका कारण सामुदायिक विद्यालयहरूको पठनपाठनमा निकै सुधार आएको छ । आधारभूत तहको शिक्षासम्म आफ्नै पाठ्यपुस्तक तयार गर्ने सबैभन्दा पहिलो पालिकाको रूपमा गोकर्णेश्वर नगरपालिकाले कीर्तिमान बनाएको छ । यस नगरपालिकामा भएका १६ वटा सामुदायिक विद्यालयमा निःशुल्क वितरण गरिएका पुस्तक निजी विद्यालयमा पनि पठनपाठन हुँदै आएको छ । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा नगरपालिकाले प्रशस्तै कामहरू गरेको छ । नगर क्षेत्रमा सामुदायिक विद्यालयहरूलाई पूर्णरूपमा व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आइरहेको छ ।\
स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फड्को मारेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् । नगरपालिका क्षेत्रभित्रका पाँच वटा स्वास्थ्यचौकीको स्तरोन्नति भएका छन् । गोकर्णको १५ शैय्याको अस्पतालमा ७२ प्रकारका औषधिहरू निःशुल्क रूपमा पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ । जुन अस्पतालमा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको उपचार निःशुल्क हुन्छ भने महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा पनि छ । ९० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेषभत्ता दिने व्यवस्था पनि गर्दै आइरहेको छ । यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरवासीहरूलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन् । न्यायिक समितिमा परेका उजुरीहरू न्यायिक समितिमार्पmत समझदारीमा बिना झन्झट समाधान भइरहेका छन् । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस नगरपालिकाले । विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरूको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्यांकनका हरेक चरणहरूमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वदलीय, सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई यस नगरपालिकाले पूर्णरूपमा अवलम्बन गर्दै आइरहेको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ यस गोकर्णेश्वर नगरपालिकाले ।
सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रूपमा अंगीकार गरी त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ ।
केन्द्रले प्रयोग गर्दै आएका वित्तीय, प्रशासनिक, राजनीतिक अधिकारहरू विकेन्द्रीकरणको मर्म र भावनाअनुसार निक्षेपण गर्दै आइरहेका् हुन्छन् स्थानीय तहहरूले । स्थानीय तहहरूको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै आएको छ गोकर्णेश्वर नगरपालिकाले । आगामी दिनमा नगर क्षेत्रलाई अझै सबल, सक्षम र विकसित गर्न सफल रहोस् गोकर्णेश्वर नगरपालिका ।
प्रतिक्रिया