देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा ९१ प्रतिशतले घट्यो एचआइभी संक्रमण

देशान्तर

काठमाडौं । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्यांकमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको हो ।

केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका संक्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ संक्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ संक्रमित कम भइरहेको बताए । उनले संक्रमितलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताए ।

‘हामीले संक्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौँ,’ उनले भने, ‘सबै संक्रमित उपचारमा ल्याएका छौँ, ती उपचारमा रहेका संक्रमितले औषधि खाएपछि अरूलाई सार्दैनन् र संक्रमित कम हुँदै गएका छन् ।’ औषधि खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उनले बताए ।

उनका अनुसार अहिले देखिएका संक्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी संक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी संक्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी संक्रमित भएका थिए ।

यस्तै एचआइभीबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सन् २०२३ मा २३१ जनाको संक्रमणको कारणले मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सयजना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलोपटक एचआइभी एड्स देखिएको थियो ।

निर्देशक डा. शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार संक्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए । ‘अझै करिब पाँच हजार संक्रमित उपचारभन्दा बाहिर रहेका छन्,’ उनले भने, ‘हामी ती संक्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।’

उनले एचआइभी संक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए । नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने रहेका छन् ।

तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा संक्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिंगीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ ।

सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदार नेपालीमा शून्य दशमलव दुई प्रतिशत संक्रमण रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगीगी तथा तेस्रोलिंगी र रोजगारका लागि विदेशिने तथा तिनका दम्पत्ती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा संक्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी संक्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।

केन्द्रका निर्देशक डा. शर्माका अनुसार एचआइभी संक्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भइसकेको जानकारी दिए ।

हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।