देशान्तर विशेष संवाददाता
काठमाडौं ।महासमिति बैठक बसेको चार महिनापछि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महासमितिमा पेस भएका प्रस्ताव पारित गरेको छ नै, पार्टीभित्र शीर्ष नेताहरूका बीचमा बारम्बार छलफल र सहमति गरी पार्टीको भावी राणनीति, कार्यनीति र संगठन निर्माणको कार्यतालिका नै बनाएको छ । गत आइतबार सम्पन्न बैठकले तय गरेको कार्यतालिकाअनुसार असोज १ देखि पुस १० गतेसम्म सयदिने संगठन सुदृढीकरण अभियानको घोषणा गरेको छ । सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्ने महामन्त्री गगन थापाले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणका काम तीव्र रूपमा हुन सकेको छैन र अहिलेसम्म करिब २० प्रतिशतमात्रै नवीकरण भएको छ । यो अभियानअन्तर्गत सबै क्रियाशील सदस्यता नवीकरण गरिनेछ र नयाँ पनि वितरण गरिनेछ भने क्रियाशील सदस्यताको टुंगो लागेपछिमात्रै १५ औं महाधिवेशन प्रक्रिया सुरु हुनेछ । २०७८ मा १४औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए । यसपालि अझै थपिने कांग्रेसको दाबी छ । त्यही बैठकले नै पन्ध्रौं महाधिवेशनको कार्यतालिका बनाउने तयारी गरे पनि सभापति देउवाका कारण महाधिवेशन कार्यतालिका भने बन्न सकेन ।
बैठकले कार्यतालिका नबनाए पनि काम भने निरन्तर अगाडि बढाउने निर्णय पनि कांग्रेसले गरेको छ । सोहीअनुसार महामन्त्री थापाले भदौ ५ गते नै ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरण तत्काल सुरु गर्न निर्देशन पनि दिएका थिए । केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता कार्ड, नवीकरण फारम, नयाँ क्रियाशील सदस्यता फारम पठाइसकिएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी काम नगरे वा गर्न आलटाल गरे वैकल्पिक निर्णय गरी सदस्यतासम्बन्धी काम केन्द्रबाटै अघि बढाउने चेतावनीसमेत दिइएको थियो । यस्तै, कांग्रेसले पार्टी विधानमा समयानुकूल संशोधन र परिमार्जन आवश्यकता रहेको औंल्याउँदै विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय गरेको छ । गत फागुनको महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव र पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न समिति बनाउने निर्णय केन्द्रीय समितिले गरेको हो ।
एक ढिक्का भएर संगठन निर्माणमा होमिने निर्णय गरेको कांग्रेसले महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पनि पारित गरेको छ । चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको सांगठनिक प्रस्ताव र निश्चित कार्यकालपछि सक्रिय राजनीतिबाट बाहिरिनु पर्ने महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमा संस्थापन पक्षको असन्तुष्टि रहेकाले बैठक लम्बिए पनि अन्ततः यसमा देउवा र उनी पक्षधर नेताहरू पनि सहभत भए र पारित गरियो ।
यो अनुसार कांग्रेस अब एक्लै चुनावमा जानेछ भने कार्यकाल तथा पदावधिका विषयमा संविधान संशोधनका बेला प्रस्ताव लगिनेछ । कांग्रेसले यस्तो निर्णय गरेको भोलिपल्टै अर्को सत्तारूढ दल नेकपा एमालेले समेत चुनावमा गठबन्धनमा नगर्ने बताइसकेको छ । सरकारलाई कुनै पनि तरहबाट सफल पार्ने निर्णय गरेको कांग्रेसले एमालेसँग असार १७ गते भएको सातबुँदे सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने स्पष्ट पारेको छ । राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि अगाडि बढ्ने र त्यसमा देखिने समस्याहरूलाई आन्तरिक रूपमा नै किनारा लगाउने निर्णय पनि कांग्रेसले गरेको छ ।
प्रतिक्रिया