देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले एक्लै चुनावमा जाने

देशान्तर


काठमाडौं । केही समयपहिले कतारमा आयोजित एक कार्यक्रममा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनसम्म माओवादी केन्द्रसँग सहकार्य नगर्ने सर्तमा कांग्रेससँग मिलेर सरकार बनाएको खुलाएका थिए । उनको भनाइपछि सदनमा माओवादीका सांसद माधव सापकोटाले उनको नाम नलिई माओवादी आफ्नै बलमा चुनाव लडने हुँकार गरेका थिए तर कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेपछि अब आगामी उपनिर्वाचनमा दलहरू एक्लाएक्लै लड्ने लगभग निश्चित भएको छ ।

पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा आआफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताएका थिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर जनतामा जाने र कसैको बैसाखी नटेकी चुनाव लड्ने भन्दै सोहीअनुसार तयारी गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । साथै उनले एमाले हाल निर्णायक बलियो राष्ट्रिय शक्ति नबन्दा स्वतन्त्रतापूर्वक पार्टी नीति लागू गर्दै देशलाई समृद्ध बनाउने लक्ष्य पूरा नहुने अवस्था देखिएकाले निर्णायक राष्ट्रिय शक्ति बनाउने पार्टीको मिसन पूरा गर्ने दिशामा अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।
यसअघि अघिल्लो सोमबारमात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । ‘हामी भविष्यमा हुने निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं’ कांग्रेसको निर्णयमा भनिएको छ ।


कांग्रेसले ‘आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनस्र्थापित गर्ने’ निर्णय गरेको थियो । गत आमनिर्वाचनमा कांग्रेस, माओवादी, एस र जसपाबीच चुनावी गठबन्धन भएको थियो भने एमाले, राप्रपाबीच केही स्थानमा सहकार्य भएको थियो । आगामी निर्वाचनमा भने कांग्रेस, एमाले र माओवादीले एक्लाएक्लै निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टी कमिटी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने बताउँदै सोहीअनुसार तयारी गर्न पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई निर्देशन दिए पनि यी दलहरूले अहिले लिएको निर्णय र अडान चुनावसम्म टिक्ला या नटिक्ला भन्नमा संशय कायमै रहेको राजनीतिक बिश्लेषकहरूले बताएका छन् । नेपाली कांग्रेसका संस्थापन तर्फका नेता तथा प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्ने नगर्ने विषय रणनीतिक भएको भन्दै ०८४ को निर्वाचन अघि परिस्थिति हेरेर गठबन्धन गर्ने, नगर्ने विषयमा निर्णय हुने धारणा सार्वजनिक गरेका छन् । दोस्रो ठूलो दल नेकपा एमालेले मिसन ८४ अभियान नै चलाएर आगामी निर्वाचनमा एक्लै निर्वाचन लडेर बहुमत ल्याउने घोषणा नै गरिसकेको छ तर यो घोषणा कति टिक्छ हेर्न भने बाँकी छ ।