देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति/असहमति -प्रज्ञाप्रतिष्ठानहरू मोतीराम भट्ट चिन्दैनन्


मोतीराम भट्ट ३० वर्षमै बिते । अल्पायुमै बितेका मोतीरामले छोटो जीवनकालमा लामो कीर्ति रहने काम गरे । उनले नेपाली पद्य साहित्य अर्थात् काव्यका क्षेत्रमा महत्वपूर्ण कार्य गरे । संगठित र सामूहिक काव्यलेखनको अगुवाइ गरे । समस्यापूर्ति परम्परा सुरु गरे । उर्दू हिन्दीमा लोकप्रिय गजललाई नेपाली साहित्यमा प्रवेश गराए ।

यी कामका अतिरिक्त मोतीरामले साहित्यिक पत्रकारिताको आरम्भ गरे । प्रकाशक÷सम्पादकका रूपमा ‘गोर्खा भारत जीवन’ प्रकाशन गरे, आदिकवि भानुभक्त आचार्यको जीवनी लेखेर आचार्यलाई चिनाए । भूमिका लेखनको आरम्भ गरे ।

उनै मोतीराम भट्टलाई नेपाली भाषा, साहित्यको उन्नयनको जिम्मेवारी पाएका नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले सम्झिँदैनन् । हरेक पर्ष भदौ महिनामा कुशेऔंसी तिथि र २५ गते मितिले मोतीरामको जन्मदिवस मनाइन्छ तर यी प्रज्ञाप्रतिष्ठानहरू प्रायः बेखबरझैँ हुन्छन् मोतीजयन्तीबारे ।

मोतीरामलाई किन हेला गर्छन् यी प्रतिष्ठानहरू ? के गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भानुभक्त आचार्य, बालकृष्ण समहरूका जन्मजयन्ती मनाउने नेपाल प्रज्ञाप्रतिष्ठानका वर्तमान काव्य विभाग प्रमुख बाबा बस्नेतलाई मोतीराम भट्टको जन्मजयन्ती मनाउने चाहिँ ‘योजनामा पार्नु नपर्ने’ रहेछ ?

अनि, माक्र्सवाद, लेनिनवाद, माओवाद, जातवाद, लिंगवाद, धर्मवादका नाममा आफ्ना पार्टीका ‘गरिब’ र ‘दरिद्र’ कार्यकर्ता पोस्न पुग्ने बजेटबाट यस्ता राष्ट्रिय विभूतिहरूलाई सम्मान गर्न नपुग्ने रहेछ कुलपति भूपाल राईज्यू ?

११ जना प्रज्ञा परिषद् सदस्यहरूमध्ये आठ जनालाई मोतीरामबारे सामान्य नाम सुन्नेबाहेक जानकारी नहुन सक्छ किनभने उनीहरूको मोतीरामका साहित्यिक कर्म, पत्रकारीय कर्मसँग साइनो नहोला । तर, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, डा. कृष्ण अधिकारी र डा. मधुसूदन गिरीले भने मोतीरामलाई पढेर डिग्री लिएका हुन् र उनलाई पढाएरै जीविका गरिरहेका हुन् कलेजमा ।

तब, यी तीनै जनासमेत मोतीरामप्रति किन यति उदासीन ? उदेक लाग्छ ।

अर्कातर्फ, विगतमा अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चलगायतको दबाबमा २०७६ साल माघमा पहिलो पटक तत्कालीन प्रज्ञा परिषदबाट राष्ट्रिय गजल महोत्सव गरियो । उक्त महोत्सवकै क्रममा तत्कालीन कुलपति, सदस्यसचिव तथा काव्य विभाग प्रमुखले हरेक वर्ष मोतीजयन्तीमा विशेष गजल महोत्सव गर्ने घोषणा गरेका हुन् तर पछिल्लो प्रज्ञा परिषद् यसमा चुकेको छ ।
अर्को नरमाइलो कुरा, नेपाल प्रज्ञाप्रतिष्ठान परिसरमा मोतीराम भट्टको सालिक पनि राज्य तहबाट राखिएन, गैरसरकारी, गैरनाफामूलक साहित्यिक संस्था अनाममण्डलीले राखिदियो । उक्त सालिकको संरक्षण, सम्भार र सम्मानसमेत गर्न सकेन प्रतिष्ठानले ।

राजनीतिक कृपावाद, नातावाद र चाकडीवादबाट नियुक्त भएका प्राज्ञहरूबाट यस्तो अपेक्षा गर्नु उचित नहोला तर प्रतिष्ठानबाट उनीहरूले खाने लाखौँ रुपैयाँ तलब र भत्ताचाहिँ हामीले तिरेकै करबाट खाने हुन् ।

यसपालि मोतीराम भट्टको १५९औं जन्मजयन्ती हो । तिथिअनुसार गत १७ भदौमै कुशेऔंसी परेकाले सकियो भने अब मितिले २५ भदौ बाँकी छ । यहीबीचमै पनि सम्झिएर श्रद्धा गरे धर्मच्युत, जात र वर्गच्युत हुँदैनन् प्राज्ञहरू । तर, उनीहरूबाट यस्तो अपेक्षासमेत बेकार भएको छ ।

के अब पनि राज्यबाट मोतीरामहरूलाई उपेक्षित नै राखिरहने ? सोचौं र सोच बदलौं, बदलाऔं !