देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिल्ला शिक्षा कार्यालय पूर्णरूपमा हटाउनु पर्छ-थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला शिक्षा कार्यालय पूर्णरूपमा हटाउनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरूपमा हटाउनुपर्ने बताए ।

उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभई प्राधिकरण बनाउनुपर्ने प्रस्ताव गरे । शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्वायत्त हुनुपर्ने भन्दै उनले स्वायत्त भएमात्रै राम्रोसँग काम गर्न सक्ने बताए ।

उनले शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गर्न पनि आग्रह गरे । मिलान गर्ने कुराको सन्दर्भमा शिक्षकको उत्तीर्णाङ्क ५० प्रतिशत अनिवार्य राख्नुपर्ने उनको भनाइ छ । यसैबीच विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ । समितिको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरेर विधेयकलाई अझ व्यवस्थित बनाइने बताए । उनका अनुसार, असल शिक्षा बनाउन आवश्यक मोडेलबारे समितिले पनि प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाइने छ । उपसमिति भने आगामी बैठकबाट बनाइने छ ।

संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको हो ।

समितिले आमजनता र सम्बन्धित विद्यार्थीलाई विश्वासमा लिएर त्रुटि सच्याउन भनेको छ । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउनेजस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।