काठमाडौं । बिन्तीकुमार गुरुङ लमजुङ जिल्लाको बाक्लो गुरुङ बस्तीहरूमध्येको डडुवा दुर्छा गाउँमा जन्मिएर रोधीँमा नाच्दै गाउँदै हुर्किएका गायक हुन् । उनको घुम्दैघुम्दै आको बोलको गीतको भिडियो अहिले चर्चामा छ । हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका गायक तथा संगीतकार गुरुङले प्रवासमा रहेर पनि बर्सेनि २ देखि ३ वटा म्युजिक भिडियो रिलिज गर्दै आइरहेका छन् । उनका बाटैबाटो, माया त यस्तो, चोखो माया, होई मेरो संसार, फूलभन्दा नि राम्री छ्यौलगायतका दुई दर्जनभन्दा बढी गीतहरू उनकै आफ्नै च्यानलबाट बजारमा आइसकेका छन् । यसका अलावा उनले आफ्नो मातृभाषा गुरुङ भाषामा पनि बेलाबेलामा आफ्ना सिर्जनाहरू बजारमा ल्याइरहेका हुन्छन् । प्रस्तुत छ गायक तथा संगीतकार गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश ।
घुम्दै घुम्दै आको बोलको गीत यतिबेला चर्चामा छ । गीतले राम्रो चर्चा पाउँदा कस्तो अनुभूति हुँदो रहेछ ?
यतिबेला मैले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाइरहेको छु । घुम्दै घुम्दै आकोलाई दर्शक–श्रोताले औधी माया दिइरहनु भएको छ । खुसी लागेको छ । दर्शक श्रोताको यति मिठो माया, साथ र समर्थनको गुन कसरी तिरौं भन्ने भइरहेको छ मलाई ।
गीतको सार के हो ?
घुम्दै घुम्दै आको एउटा मौलिक सिर्जना हो । विशेषगरी गुरुङ बस्तीमा प्रचलित रोधीँ संस्कार अनुसार केटा र केटी पक्षको बीचमा खेलिने रमाइलो दोहोरीको प्रतीकात्मक उदाहरण हो । घुम्दै घुम्दै आकोले गाउँघरमा गरिने रमाइलो, ठट्यौली र सोल्टी सोल्टिना ( ङोलोङोल्स्यो ) बीचको विशेष किसिमको आकर्षणयुक्त गीति निकटता झल्काउँछ ।
कसरी लाग्नु भयो सांगीतिक क्षेत्रमा ?
बाल्यवस्थादेखि नै गीतसंगीत मेरो रुचि र सोख थियो । जब म बुझ्ने भए त्यतिबेलादेखि नै पारिवारिक माहोल पनि सांगीतिक भएका कारण र गाउँघरमा नाचिने सांस्कृतिक कार्यक्रमले पनि मेरो चाख बढाएको हो । मेरो बुबाले पनि गाउनुहुन्थ्यो । बुबा दोहोरी भनेपछि हुरुक्कै । सायद बुबाको संस्कार र मेरो रुचिमा मेल खाएर हुनुपर्छ मलाई गायनमा झुकाब बढ्यो ।
संगीत के हो ?
मेरो विचारमा संगीत सुखदुःखको साथी हो । संगीतलाई गहिरो रूपमा बुझ्न सक्ने हो भने जिन्दगी जिउनलाई यसले सहज बनाउँछ । संगीतमा लाग्दा एक्लोपनको महसुस हुँदैन ।
संगीतमा लाग्दालाग्दै तपाईंले आफ्नो प्रेम पाउनु भएको हो ?
संगीतमा रमाउँदै जाँदा मैले प्रेम प्राप्ति गरेँ । सँगसँगै मैले सांगीतिक यात्रामा उनको साथ सदैव पाइरहेको छु ।
संगीतबाहेक यहाँको अन्य रुचिका विषयहरू के के हुन् ?
संगीतसँगसँगै म साहित्यमा विशेष रुचि राख्दछु । म गायनका अलावा शब्द सिर्जनामा पनि विशेष रुचि राख्दछु । अमेरिकाको व्यस्त दैनिकीमा पनि बाँकी रहेको समयमा नजिकको साथीभाइहरूसँग बसेर रमाइलो गर्न औधी मनपर्छ ।
संगीतमा लागेर के पाउनु भो अनि के गुमाउनु भो ?
संगीतमा लागेर मलाई आत्मसन्तुष्टि मिलेको छ । संगीतमा लागेर दाम कमाउनुभन्दा पनि कही न कहीँ आफ्नो नाम होस् भन्ने चाह हो ।
प्रवासको व्यस्त दैनिकीमा भिडियो निर्माण कति सहज छ ?
सबैभन्दा ठूलो कुरा मन हो । मन भए समय निस्किन्छ । तर पनि नेपालमा नै बसेर भिडियो निर्माण गर्न जति सम्भव यहाँ छैन । यहाँ सीमित समयावधि छुट्याएर सीमित जनशक्तिले बनाउने भिडियो नेपालमा बसेर बनाएको जस्तो सहज छैन । तर पनि नेपाल आएको मौकामा केही भिडियोहरू मज्जाले समय दिएर निर्माण गर्ने धोको छ । हेरौँ समयले कति साथ दिन्छ ।
सांगीतिक क्षेत्रमा भोलिका दिनमा यहाँ कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
भोलिका दिनमा अझ रचनात्मक तरिकाले अगाडि बढ्दै छु । मेरा नयाँ गीतहरू आउँदैछन् । छिट्टै नै अमेरिकामा नै मातृभाषाको नयाँ गीतको छायांकन गर्दैछु । जुन गीतको भिडियो दसैँ तिहारको अवसरमा दर्शक श्रोतामाझ ल्याउने तयारीमा छु ।
प्रतिक्रिया