काठमाडौँ । नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर गम्भीर विवादमा तानिएका छन् । मगरको सार्वजनिक भएको एउटा अडियो भिडियो संवादमा अस्ट्रेलियामा हुने साङ्गीतिक कार्यक्रममा कलाकारको रूपमा गैर कलाकार लाई लैजाने र त्यसका लागि प्रति व्यक्ति बिस देखि बाइस लाख चाहिने र त्यसको व्यवस्था सङ्घ र आफूले गर्न सक्ने र गरिरहेको बताए पछि उनी विवादमा तानिएका हुन् ।
आगामी दसैँमा हुने कार्यक्रमका लागि कलाकार र गैर कलाकार सहित चालिस बयालिस जना अस्ट्रेलिया लैजान लागेको उक्त अडियो मा सुन्न सकिन्छ । मगर सँग कुरा गर्ने सञ्चारकर्मीलाई पत्रकारको रूपमा वा कलाकारको रूपमा अस्ट्रेलिया लैजान सकिने र भिसा ग्यारेन्टीको संवाद पनि उक्त अडियो मा छ । सार्वजनिक भएको भिडियो क्लिपमा उनले कागजातमार्फत गैर कलाकारलाई कलाकार बनाउन सकिने दाबी गरेका छन् ।
यसबारे प्रतिक्रिया माग्दा मगरले आफूले प्रक्रियागत र व्यक्तिगत कुरा गरेको तर संस्थालाई दुरुपयोग नगरेको दाबी गरे । सङ्गीत उद्योग सङ्घले अस्ट्रेलिया त्यस प्रकारको कार्यक्रमको आयोजना पनि नगरेको आधिकारिक कुनै निर्णय नगरेको देशान्तरलाई बताए । उनिले यसबारे कानुनी उपचार खोज्न छलफलमा रहेको बताए ।
यसैबिच सङ्गीत उद्योग सङ्घबाट अलग भएर बनेको सङ्गीत ब्यवसायीहरुको संस्था म्युजिक प्रोडुसर एसोसिएसन नेपालका महासचिव बाबुराजा केसी उज्ज्वल यो विषय गम्भीर चासो र चिन्ताको विषय भएको प्रतिक्रिया दिएका छन् । संस्थाले यो विषयलाई गम्भीरता पूर्वक लिएको भन्दै उनले सम्बन्धित निकायले सत्य तथ्य छानबिन गरेर बाहिर ल्याउन र गलत भएको भए कारबाही गर्नु पर्ने बताए । सङ्गीत क्षेत्रको दुरुपयोग गरी यस प्रकारको अवैध गतिविधि हुन्छ भन्ने कल्पना पनि गर्न नसकिने भन्दै केसीले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सङ्घका अध्यक्ष मगर आफैले सहजिकरण गरिदिनु पर्ने बताए ।
प्रतिक्रिया