देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए नभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन

देशान्तर

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए नभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । साथै १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न समेत पर्यटन समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकमा सरोकारवालासँगको छलफलपछि समिति सभापति राजकिशोर यादवले मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी दिए । साथै यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेस गर्न र गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।