काठमाडौं । साउन १५ अर्थात खीर खाने पर्वको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको आयोजनामा सल्लाघारीस्थित निर्माणाधीन पार्टी कार्यालयमा खीर खाने कार्यक्रम सम्पन्न भएको छ ।
पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भएकोले संयुक्तरुपमा खीर खाने कार्यक्रम आयोजना गरिएको आयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले बताए । खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले जनतासंगको सम्बन्ध खीरजस्तै मिठासपूर्ण बनाउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । सो अवसरमा सभापति थापाले पार्टीले अनावश्यक भोजभतेर कटौती गर्दै मौलिक चाडपर्व मनाउन पर्नेमा जोड दिए । पार्टीले खुशीयाली साटासाट गर्न र भेटघाटका लागि गरिने कार्यक्रमहरु चाडपर्वको अवसर पारेर गर्दा सुनमा सुगन्ध हुने भन्दै उनले मन खोलेर चाडपर्व मनाउन मातहतका समितिहरुलाई सुझाव समेत दिए ।
कार्यक्रममा सभापति थापाले चाँगुनारायण(झौखेल दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिवार सम्पन्न निर्वाचनबाट प्रधुम्न पोखरेलको नेतृत्वमा निर्वाचित उपलब्ध कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन समेत गरे । नेपाली कांग्रेसको बिचार बोक्ने पदाधिकारी निर्वाचित भएकाले सो समितिले सामुहिक हितमा केन्द्रीत रही कार्य गर्ने सभापति थापाले विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा दधिकोट सहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित मन्दिरा बास्कोटा लगायतलाई पनि बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रका पदाधिकारीहरु, नगरका पदाधिकारीहरु, बागमती प्रदेश सरकारकी पूर्व मन्त्री रजनी जोंछें, मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत र कविर राणा त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष पुष्करराज बुढाथोकी लगायतको समेत सहभागिता रहेको पार्टी सचिव शुशिल बस्नेतले बताए ।
प्रतिक्रिया