काठमाडौं । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले अनुमति विना गैरसरकारी संस्थाको कुन पनि प्रकारको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएका छन् । संसद् सचिवालयले पनि सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराइएको जनाएको छ ।
मंगलबार सभामुख र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन् ।
पत्रमा भनिएको छ, ‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमतिविना कतिपय गैरसरकारी संस्था ९एनजीओरआईएनजीओ०हरुले संघीय संसदअन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासा सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ ।’
आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया