देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संघीयताको उपहास– कोशी, गण्डकी र मधेस

देशान्तर


काठमाडौं । नेपालको नयाँ संविधानमा व्यवस्था गरिएको खराब निर्वाचन प्रणालीका कारण दुई, चार सिटे राजनीतिक दल र स्वतन्त्र सांसदले च्याखे थाप्ने र घुर्की लाउने अवस्था हुँदा जनादेशको अवमूल्यन र संघीयताको समेत उपहास त भएको छ नै राष्ट्रिय तथा प्रदेशको राजनीति जहिले तरल र दुबै तहका सरकार अस्थिर बन्दा निर्वाचन प्रणाली फेर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।
नेपालको विद्यमान निर्वाचन प्रणालीका कारण कुनै दलको एकल बहुमत आउने सम्भावना अत्यन्त न्यून भएका कारण सरकार बनाउन दुई वा दुईभन्दा बढी दलले सत्ता साझेदारी गर्नुपर्ने बाध्यताको फाइदा तेस्रो, चौथो हुँदै सानासाना दल र स्वतन्त्र सांसदले उठाइरहेका छन् जसका कारण संघ र प्रदेश सरकार अस्थिर बनिरहेका छन् ।
संघमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ । संसदीय अभ्यासमा ठूलो दलको नेतृत्वमा अन्य दल सम्मिलित बहुमतको सरकार बन्नुपर्ने जनादेश थियो, त्यसो हुन नसके दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा अन्य दल सम्मिलित बहुमतको सरकार बन्नु सैद्धान्तिक रूपमा उचित अभ्यास मानिन्थ्यो तर तेस्रो दल नेकपा माओवादी नेतृत्वको सरकार छ जुन सत्ता स्वार्थकेन्द्रित संसदीय कुरूप अभ्यास हो । त्यस्को असर स्वतः प्रदेशहरूमा पर्ने नै भयो । सातै प्रदेश अस्तब्यस्त छन् । कतै पनि स्थिर सरकार र राजनीतिक स्थायित्व छैन । ठूला दल सत्ता स्वार्थमा लिप्त हुँदा साना दल निर्णायक बनेका छन् । गण्डकीमा त एक जना स्वतन्त्र सांसद नै निर्णायक छन् । हरेक सत्ता परिर्वतनमा उनी निर्णायक हुँदा रोजेकै मन्त्रालय लिएर मन्त्री बन्ने भाग्यमानी बनेका छन् ।


मधेस प्रदेशमा एकसिटे नाउपा र एक जना स्वतन्त्र, बागमतीमा दुई सिटे हानेपा, लुम्बिनीमा एक सिटे फुटेको जसपा, सुदूरपश्चिम सात सिटे नाउपा निर्णायक हुने र रोजेको मन्त्रालय दिनैपर्ने बाध्यात्मक अवस्था आउनु निर्वाचन प्रणालीको दोष त हो नै ठूला भनिने दलहरूको अर्कमण्यता र सत्ता टिकाउने अंकगणितमा अल्झेका कारण जनादेशको हुर्मत लिने काम हुँदा संघीयताको चरम उपहास भएको छ ।
पछिल्लो पटक मधेस प्रदेशमा जसपा नेपालको सरकार ढलेर जनमत पार्टीको नेतृत्वको सरकार बनेको छ । मधेस प्रदेशमा तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जनमत पार्टीका सतिशकुमार सिंहले शुक्रबार पदबहाली गरेका थिए । जहाँ एमाले सभामुखसहित २५ सिट सँगै ठूलो पार्टी हो । कांग्रेस २२ सिट सँगै दोस्रो ठूलो पार्टी हो भने जनमत १३ सिट सँगै तेस्रो पार्टी हो । यसअघि सरकारमा रहेको जसपा नेपालको १० सिट रहेको छ । केन्द्रमा जस्तै प्रदेशमा पनि तेस्रो, चौथो, अझ सुदूरपश्चिममा त ४ सिटको पाँचौं दल नेकपा एसले नेतृत्व गरेको छ । अहिले कोशी प्रदेशको नेतृत्व प्रदेश सभाको पहिलो दल एमालेले गरेको छ । जुन सरकार गठनका विरुद्ध परेको रिटको फैसलाका लागि संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ । मधेस प्रदेसमा तेस्रा दल जनमतले, बागमतीमा तेस्रो दल माओवादी केन्द्रले, गण्डकीमा पहिलो दल नेपाली कांग्रेसले, लुम्बिनीमा तेस्रो दल माओवादीले, कर्णालीमा तेस्रो दल एमालेले र सुदूरपश्चिममा पाँचौं दल नेकपा एसले नेतृत्व गरेको छ ।