काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । पार्टीको कोसी कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारे । एकताका निम्ति एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनले बताए ।
आजै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका थिए । सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताएका हुन् ।
यसैबीच अध्यक्ष नेपालले राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउन पनि सुझाव दिएका छन् । उनले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र भएको उल्लेख गरे । यसका निम्ति धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न उनले सुझाव दिए ।
अध्यक्ष नेपालले मधेस प्रदेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ समीकरणकै निर्णयानुसार आफूहरू अघि बढेको बताए ।
प्रतिक्रिया