एनआईसी एशिया बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगन्ज महानगरपालिकामै रहेको वीरगन्ज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भएको बैंकले जनाएको छ ।
नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा आएपश्चात् ग्राहकलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।
साथै, उक्त नवनिर्मित भवनमा ग्राहकलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले Cash Deposit machine, KIOSK Machine, Cash Recycler Machine जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हलसमेत सञ्चालनमा ल्याइएको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया