भक्तपुर । भक्तपुरका समाजसेवी तथा सफल व्यवसायीको स्थापित नाम हो—रामसुन्दर बके। बुबा कृष्णगोपाल र आमा विष्णुमाया बकेका चार सन्तानमध्ये कान्छा सन्तानको रूपमा २०२९ सालमा जन्मिएका हुन्, रामसुन्दर बके । भक्तपुर नगरपालिका वडा नम्बर–४ मा जन्मिएका बकेले कक्षा १२ सम्मको अध्ययन कालिका माध्यमिक विद्यालय रामेछापबाट पूरा गरेका हुन् । त्यसपछि उनले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पबाट उच्च शिक्षा हासिल गरेका हुन् । उच्च शिक्षा अध्ययनकै क्रममा समाजसेवा र व्यवसायमा हात हालेका बकेले घरजग्गा व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा तय गरे । पढाइ र व्यवसायलाई एकैसाथ अगाडि बढाएका बकेले एआरल्यान्ड डेभलपर सर्भिसेज प्रा.लि. नामक कम्पनी दर्ता गरेर आधिकारिक रूपमा घरजग्गा व्यवसाय सञ्चालन गरेका हुन् ।
घरजग्गासँगै होटेल व्यवसायमा हात हालेका उनी भिलेज सिटी प्रा.लि.को अध्यक्षसमेत रहेका छन् । बके घरजग्गा व्यवसायीसँगै विगत ६ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । पर्यटन व्यवसायमा हात हालेका बकेले सूर्यविनायक नगरपालिका वडा नम्बर–८, रानीकोट (साविक सिपाडोल) मा भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा ल्याएका छन् । सफल व्यवसायीसँगै समाजसेवी बके नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव छन् । त्यस्तै, उद्योग व्यापार महासंघ भक्तपुरको केन्द्रीय सदस्य, नेपाल आन्तरिक पर्यटन उत्थान समिति बागमतीको सदस्य, पनौती नगरपालिकाको पर्यटन विकास समिति सदस्य, नेपाल घोडाघोडी संघको केन्द्रीय सदस्य, आठबीस नगरपालिका दैलेखको पर्यटन सल्लाहकार, पर्यटनको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिका उदयपुरको पर्यटन सल्लाहकार र कालिका माध्यमिक विद्यालय रामेछापको सल्लाहकारसमेत रहेका छ । त्यसैगरी उनी भक्तपुर उद्योग व्यापार महासंघका अध्यक्षसमेत रहेका छन् ।
बुवाको प्रेरणाबाट घरजग्गा व्यवसायमा लागेका बके होटल व्यवसायमा भने आफ्नै इच्छाले लागेका हुन् । ६ वर्षदेखि होटल व्यवसायमा हात हालेका बकेले चितवनस्थित सौराहको बगरमा क्याफे सञ्चालन गर्ने योजनामा पनि रहेका छन् । त्यस्तै, काभ्रेको पनौतीमा रानीकोट रिसोट चलाउने भावी योजना भएको पनि उनी बताउँछन् । बकेको पुरानो व्यवसाय घरजग्गा कारोबारमा पछिल्लो समय सरकारले जग्गाको कित्ताकाट रोकेपछि मुलुकमा आर्थिक मन्दी छाएको बताउँछन् ।
बके भन्छन्, ‘पानीको स्रोत मुहान हो भने आर्थिकको मूल स्रोत घरजग्गा कारोवार हो ।’ जग्गाको कित्ताकाट रोकिएपछि देशमा आर्थिक मन्दी छाएकोमा अहिले भने केही सुधार भएको उनी बताउँछन् । २०५६ सालदेखि आधिकारिक रूपमा कम्पनी दर्ता गरेर घरजग्गा व्यवसाय गर्दै आएका बके आफ्नो पेसाप्रति सन्तुष्ट छन् । घरजग्गा कारोबारको व्यवसाय गर्दै आएको भए तापनि जग्गाको कित्ताकाट रोकाएपछि अर्थतन्त्र चलायमान नहुँदा एउटै व्यवसायबाट टिक्न मुस्किल देखेपछि पर्यटन प्रवद्र्धनको लागि होटल व्यवसायमा हात हालेको बके बताउँछन् । होटल व्यवसाय थालेपछि उनले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित रानीकोट (साबिक सिपाडोल)मा भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा ल्याएका छन् । भिलेज हाइल्यान्ड रिसोट सञ्चालनमा ल्याइए तापनि भक्तपुरको रानीकोट नयाँ गन्तव्य भएकाले सोझै विदेशी पर्यटकसँग जोडिन मुस्किल परिरहेको व्यवसायी बकेको ठम्याइँ छ । त्योसँगै आर्थिकमन्दीले गर्दा आन्तरिक पर्यटकमा पनि कमी आएको उनको बुझाइ छ ।
रानीकोट नै किन ?
भक्तपुरको रानीकोट पर्यटनको नयाँ गन्तव्य हुँदाहुँदै रोजाइमा किन ? भन्ने प्रश्नमा सफल व्यवसायी तथा समाजसेवी बके भन्छन्, ‘धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, ऐतिहासिक, पुरातात्विक र सामरिक महत्वका हिसाबले रानीकोटलाई पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्न र मेरो रोजाइमा परेको हो ।’ रानीकोट भौगोलिक र धार्मिक महत्वका हिसाबले रानीकोट काभ्रे, भक्तपुर र ललितपुरको संगमस्थल हो । यो स्थल रहेको सूर्यविनायक नगरपालिकामा प्रसिद्ध तीर्थस्थल डोलेरश्वर महादेव रहेको छ । डोलेश्वरलाई (सिपारु महादेव) पनि भनिन्छ । सोही नगरपालिकामा पर्ने रानीकोट डोल आउने सबैभन्दा राम्रो बाटो हो । ऐतिहासिक धार्मिक दृष्टिकोणले महापुरुषहरू यहीं रानीकोटको बाटो भएर आएको भनाइ छ । सोही ठाउँबाट नेपालको समय निर्धारण गरिएको भनाइ छ । महाभारतको युद्ध सकिएपछि पाँच पाण्डवले केदारनाथको दर्शन गर्न खोज्दा बन्धु हत्याको गरेको कारण मुख नहेर्ने भन्ने भएछ । त्यसपछि पाँच पाण्डवहरू ‘डोला’ पर्वत हुँदै हालको डोलेश्वर महादेवको दर्शन गर्न आउँदा यो बाटो भएर आएको भनाइ छ । पाँच पाण्डवहरू डोलेश्वर महादेवको दर्शन गर्न आउँदा प्रयोग गरेको बाटो नै रानीकोट हो । रानीकोट ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ । ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ ।
त्यसैले मैले पछिल्लो समय प्राकृतिक सौन्दर्यमा रमाउन रानीकोट पुग्ने गर्दछन् । त्योसँगैसडक बिस्तारले थप सहज बनाएको छ । स्वच्छ हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरूमा रमाउन रानीकोट पुग्नेहरूको भीड नै लाग्ने गरेको छ । अहिले रानीकोट हाइकिङका लागि उपयुक्त गन्तव्य मानिएको छ । यसका लागि केही रुट छन् । जस्तो कि, सूर्यविनायक रानीकोट हुँदै आशापुरी । सूर्यविनायक रानीकोट हुँदै फूलचोकी । सूर्यविनायक रानीकोट हुँदै लाँकुरीभन्ज्याङ । अर्थात् रानीकोट यी दुबैतर्फका मध्यबिन्दु हुन् । भक्तपुर र पनौतीको सीमावर्ती गन्तव्य हो रानीकोट । यो धार्मिक र ऐतिहासिक महत्वको थलो पनि हो । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको रानीकोटबाट काठमाडौं उपत्यकासहित लाडटाङ हिमशृंखला आँखै अगाडि देख्न सकिन्छ । त्योसँगै तत्कालीन महापुरुषहरूले सामरिक लडाइँको लागि यसै स्थानलाई प्रयोग गरेकाले रानीकोटगढी ऐतिहासिक गढी हो । त्यसैले मलै रानीकोटमा ‘भिलेज हाइल्यान्ड रिसोट सञ्चालनमा ल्याएको छु,’ सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बके भन्छन् ।
रानीकोट गढी
मल्लकालीन रानीकोट गढी (दरबार) भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्दछ । यहाँ कुनै भवन नभए पनि भग्नावशेषहरू देख्न सकिन्छ । मल्लकालीन शैलीमा रहेको काभ्रे, भक्तपुर र ललितपुरको संगमस्थल रानीकोट गढी थुम्को वरिपरिका इँटा, ढुंगा, वृत्ताकार खाडल र वास्तु अवशेष भग्नावशेषका रूपमा परिणत भएका छन् । रानी बस्ने दरबार र किल्ला भएकाले यो स्थानको नाम ‘रानीकोट’ रहन गएको हो ।
भन्सारचौकीसमेत रहेको यस किल्लालाई सामान्य मर्मत गरी गोर्खालीहरूले उपत्यका जित्न उपयोग गरेको पुस्तकमा उल्लेख छ । रानीकोट गढीबाट उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोकका केही क्षेत्र अवलोकन गर्न सकिन्छ भने पूर्वमा आशापुरी महादेव, पश्चिममा अनन्तलिंगेश्वर, उत्तरमा केदारनाथको शिर डोलेश्वर र दक्षिणमा मुरलीश्वर महादेव छन् । रानीकोटको नैऋत्यकोणमा प्रसिद्ध बाघभैरवस्थान छ । मल्लकालीन संरचना भग्नावशेषमा परिणत भए पनि रानीकोट गढी पर्यटकीय गन्तव्यस्थलका रूपमा लिन सकिन्छ । सूर्यविनायकचोकबाट करिब ७ किलोमिटर दक्षिणमा रहेको रानीकोट गढी पर्यटकीय र सामरिक हिसाबले महत्वपूर्ण रहेको व्यवसायी तथा समाजसेवी बके बताउँछन् । ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य र दायित्व भएको बताउँदै बकेले रानीकोट गढीलाई पुरातात्विक शैलीमा निर्माण गर्दा पर्यटनको नयाँ गन्तव्य बन्ने बकेको ठम्याइँ छ ।
रानीकोट गढीको आसपासमा राष्ट्रिय प्राणी उद्यान, मल्लकालमा रानीले नुहाउने कुवा, घ्याम्पेडाँडा, पाइलटबाबा आश्रमलगायतका महत्वपूर्ण पर्यटकीयस्थल छन् । यस स्थानबाट सूर्योदय र सूर्यास्तसमेत नियाल्न सकिन्छ । रानीकोट गढी आसपासको भेगमा जैविक विविधता कायम राख्न, लोपोन्मुख जनावर, चितुवा, मृग, सालक, खरायो दुम्सी, बँदेल, बट्टाई, कालिज, तित्रा, लामापुच्छ्रे चरालगायतका जंगली जनावरको संरक्षण गर्नुपर्ने संस्थाका अध्यक्ष लालबहादुर लामाले बताए । गढी आसपासमा सार्वजनिक शौचालय, खानेपानी आरामदायी विश्रामस्थल निर्माण गर्नुपर्ने, यस क्षेत्रको सडक कालोपत्रे गर्नुपर्ने, पिकनिक स्थल, भ्यु टावर निर्माण, सिँढीको दायाँबायाँ रेलिङ निर्माण गर्नुपर्ने संस्थाले उल्लेख गरेको छ ।
गौरीशंकर र लाडटाङ हिमशृंखला
साक्षात्महादेवकोे दृश्याबलोकन यो ठाउँ उपयुक्त छ । यही ठाउँमा फुलचोकी माई पनि पर्दछ । त्योसँगै उपत्यकाका तीनैवटा जिल्लाका महत्वपूर्ण स्थानहरूको दृश्यावलोकन गर्न सकिने स्थान रानीकोट भएकाले यसको प्रचारप्रसार र उचित व्यवस्थापन हुने हो भने विदेशीदेखि आन्तरिक पर्यटन बढ्ने व्यवसायी तथा समाजसेवी बकेको बुझाइ छ ।
रानीकोटको ऐतिहासिक र प्राकृतिक महत्व
इतिहासको कुनै समयमा रानीकोटमा दरबार रहेको भनाइ रहेपनि पुष्टि हुन सकेको छैन । यहाँ बूढापाकाको भनाइअनुसार रानीकोट राजा–महाराजाहरूको आराम गर्ने स्थान रहेको थियो । त्यतिबेलाका राजाले यस जंगल भ्रमणमा रानीलाई लिएर जाँदा यस ठाउँको प्राकृतिक सौन्दर्यसँगै त्यहाँ पाइने विभिन्न प्रजातिका चराचुरुंगीहरू पाइन्छ । रानीकोट वरिपरि घना र रमणीय जंगल भएकाले चराचुरुंगीको अवलोकनका लागि समेत उपयुक्त छ । नेपालमा पाइने आठ सय बढी प्रजातिका चराचुरुंगीमध्ये चार सय हाराहारी प्रजातिका चराहरू त यसै जंगलमा पाइन्छन् । अहिले यो क्षेत्रमा दुर्लभ चरा काँडे भ्याकुरलगायतका चराहरू पाइने गरेको पनि बकेले बताए ।
मनमोहक दृश्यले रानी अति खुसी भएपछि राजाले प्रेमपूर्वक त्यस ठाउँमा दरबार बनाइदिएका थिए । राजाले रानीलाईउपहारस्वरूप बनाइदिएको दरबार भएकाले यस ठाउँलाई रानीकोट भनिएको किंवदन्ती छ । तत्कालीन राजाले रानीलाई प्रेमपूर्वक दरबार बनाएर उपहार दिएकाले अहिले नव प्रेमीप्रेमिकाहरूरानीकोटमा घुमफिरमा आउने गर्दछन् । अहिले रानीकोटमा भनिएअनुसारको कुनै भवन नभए पनि पुराना इँटाका अवशेष देख्न सकिन्छ । अहिले यस क्षेत्रमा खुल्ला चिडियाघर बनाउने भएका कारण पनि यो क्षेत्र चर्चामा छ ।
डोलेश्वर महादेव (सिपारु महादेव)
उपत्यका चार विनायकमध्ये एक सूर्यविनायक मन्दिर हुँदै रानीकोट पुगिन्छ । रानीकोट जाँदा डोलेश्वर महादेव मन्दिर पनि भेट्न सकिन्छ । हिन्दु धर्मावलम्बीहरूका चार धाममध्ये एक केदारनाथको शिर रहेको मन्दिर हो डोलेश्वर महादेवको मन्दिर । यसलाई स्थानीयबासीले (सिपारु महादेव) पनि भन्ने गरेको पाइन्छ ।
बाघभैरव
यस्तै रानीकोटमा बाघभैरव मूर्ति पनि छ, जुन ढुंगाले बनेको बाघको आकारमा छ, यसकारण यसलाई बाघभैरव भनिएको हुनुपर्छ । बाघभैरवमा वैशाख पूर्णिमा र मंसिर पूर्णिमामा धूमधामसँग मेला लाग्ने गर्छ ।
नयाँ पर्यटकीय गन्तव्य रानीकोट
भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक तथा सफल व्यवसायी रामसुन्दर बके रानीकोट प्राकृतिकरूपले भरिपूर्ण ऐतिहासिक र धार्मिक महत्वको थलो भएर पनि पूर्वाधार विकासमा सरकारले खासै ध्यान नदिएको बताउँछन् । यहाँबाट हिमाली दृश्यहरूका साथै काठमाडौं उपत्यकालाई पनि चारैतर्फ नियाल्न सकिने भए तापनि यसको उचित प्रचारप्रसार हुन नसकेको उनी बताउँछन् ।
प्रस्तुतिः कालिका महत
प्रतिक्रिया