गरिबको उब्जनी रगत पसिना
खाएर मोटाएका मुसाहरूको रजगज
आजित भएका जनता
डुब्नेले पराल समातेजस्तो
मुसा मुक्तिको धुनमा लट्ठिएर
त्यो धुन बजाउनेलाई राजा माने
यता –
धान खाने मुसाहरू मिलेर चारो हाले
पञ्चतन्त्रको नीलो स्याल,
आफू सरह झन् चतुर पाए
अनि ढुक्क भए
दूधको सुरक्षा गर्ने बिरालो बनाइदिए
खुसीले म्याउँ म्याउँ गरिरहेको बिरालो
अहिले उसकै सातो गएको छ
३० वर्षदेखि धान खान माहिर महाकमरेडको काख पाउँदा पनि
अब के गर्ने ?
जुझ्ने, भाग्ने, कक्रने ।
नोटेसनमा बजेका साजहरूजस्तै
रूपान्तरित संयन्त्रहरू राज्यको
त्यसै गरी बज्नुपर्छ ती संयन्त्रहरूले
जस्तो नोटेसन दिइएको हुन्छ
रेड, पेड, कमरेडहरूले,
या, इतिहासको कुत खाँदै आएकाले ।
माटो खाने मट्टी चरोजस्तो
जमिन खाने श्रीपेचधारीहरू
सहकारी खानेले तहकिकात गर्ने
दूधको सुरक्षा गर्ने बिरालो
सुन खाने नवयुवराजहरू
जहाज खाने, नदी खाने
जंगल खाने, ट्रस्ट खाने
शरणार्थीसम्म पनि खाने
खाने खानेहरू मिलेर
आफ्नो साइजअनुसार
छेकाएको लुगा सरह
कानुन नै अदलबदल गरेर
अब त कानुनसम्मत नै खाए
यी खेलका गोटीहरू
कसले कहाँ हिर्काउँछ, कहाँ पुग्छ
अनौठो खेल यहाँको बुझी सक्नु छैन
अपराधी समातियो भने पार्टीविरुद्धको षड्यन्त्र
अपराधी छोडियो भने प्रजातन्त्रको जित
यस्तै गीत लेखिन्छ यहाँ
यस्तै गीत गाइन्छ
सुर दिनुपर्ने साजहरूले
यस्तै गीतको नोटेसनमा बज्नु पर्छ
यस्तै बेसुरको गीतको नयाँ संगीत भर्न
लम्पट कार्यकर्ताहरू दाह्रा किटिरहेका
लम्पट बुद्धिजीवीहरूको प्रतिस्पर्धा
टल्काएको जुत्ताको टहकमा
आफ्नो अनुहार हेरिरहेका ।
प्रतिक्रिया