न कसैलाई आराध्यदेव माने
न कसैलाई मानसिक अधीनस्थ
जसलाई मित्र माने
छाती फुकाएर आफ्नो ठाने
जसलाई मानिन
तृण बराबर गरिन
तर कहिले कसैसँग पनि
बार्दली र चोकको संवाद गरिन
न सहे कसैको त्यस्तो संवाद
धन सम्पत्तिको झलझलाहट
शक्तिको निसासिने तागत
ज्ञानको बादल माथिको उज्यालो
यी कुनैको अर्थ हुँदैन
आफ्नो विवेकमा एक्लै हिँड्नेको लागि
हिँडी नै रहेको हुन्छ एकलव्य बनेर ।
आफ्नो धरातल नठम्याएको मान्छे
स्वकल्पित टाकुरामा रमाएको मान्छे
त्यहाँबाट हेर्दा सबै साना
उभिएको धरातलमा ओर्लिनु पर्दा
सानो देखेको कोही आफू सरह,
कोही अझ अल्गो ।
सधैँ पिङ खेलिरहेको तल माथि
कहाँ ठम्याउनु आनीबानी ?
कहिले लेक पुगेको
कहिले बेसी झरेको
कसरी आबद्ध हुन सकिन्छ र ?
एक पल शिवपुरी
अर्को पल कान्तिपुरी
गरिरहेका स्वनामधन्यसँग ।
प्रतिक्रिया