काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् । कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा भएको कार्यक्रममा बिशेष बक्ताका रुपमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्मगर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,” देउवाले भने,“मलाई गाली गरेको ग¥यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन ? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुप¥यो तपाईंहरुले ।”
कार्यक्रममा नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको थियो । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाले उक्त सम्मानबाट सम्मानित गरेका हुन् ।
नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी जननेता मदन भण्डारीको पत्नी हुन् । उनी नेपालको पहिलो महिला रक्षामन्त्री समेत भएकी थिइन् भने वातावरण संरक्षण र जलवायु परिवर्तनका सवालमा पैरवी गर्दै आएकी थिइन् । हीरक महोत्सव समारोहमा प्रधानमन्त्री प्रचण्ड लगायतका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
सोमवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रूपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।
समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू सहभागी भएका छन् । त्यसैगरी उद्योगी, व्यवसायी, कूटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया