नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले सबै कार्यकर्ताहरू इमान्दार बन्दा वैशाख १५ गतेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारले सहजै जित निकाल्ने बताएका छन् । नेपाली कांग्रेसभित्र घात, अन्तर्घातको कुरा सामान्य जस्तो भएकाले यसलाई नेतृत्वले कठोरतापूर्वक रोक्नका लागि पहल गर्नुपर्नेमा पनि जोशीले बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीस“गको कुराकानीमा नेता जोशीले अहिलेको गठबन्धन अस्वाभाविक रहेको बताउ“दै मन कु“ढिएर एमाले माओवादी एक ठाउ“मा आएको टिप्पणी गर्दै निकट भविष्यमा कांग्रेस र एमालेको गठबन्धन बन्ने संकेत पनि गरे । उनै जोशीस“ग गरिएको कुराकानीको सम्पादित अंश ।
वैशाख १५ गतेको उपनिर्वाचन नेपाली कांग्रेसका लागि कति महत्ववपूर्ण छ ?
एउटा प्रदेश सदस्य र एउटा संघीय सांसदका लागि हुन लागेको वैशाख १५ गतेको उपचुनाव हेर्दा त सामान्य नै हो । तर, अहिले हुन लागेको उपचुनावलाई पार्टीको परीक्षणको रूपमा पनि लिइएको छ । गत आम निर्वाचनपश्चात (२०७९ मंसिर) दलहरूको अवस्था के रह्यो र उनीहरूको काम गराई कस्तो रह्यो र अब जनताले हाम्रा पार्टीलाई कसरी मूल्यांकन गरेका छन् भन्ने कुराको जवाफ उपनिर्वाचनमार्फत हुने भएकाले यसलाई हामीले सामान्य रूपमा नभई महत्व दिएर हेरेका छौं । नेपाली कांग्रेस संसद्मा र सरकारमा रहँदा जनताप्रति खेलेको भूमिका, जवाफदेहिताका कारण जनताले हामीलाई विश्वास गर्छन् भन्ने अपेक्षा पनि लिएका छौं ।
प्रदेश र संघको एक/एक सिटका लागि टिकट वितरणमा किन ढिला गरेको त नेपाली कांग्रेसले ?
यो नेपाली कांग्रेसको समस्या र रोग नै भइसक्यो । टिकट वितरणको कुरा सुरुमै टुंग्गाइदिएको भए हुन्थ्यो ।
गठबन्धन टुट्दा एक भएको कांग्रेस टिकट वितरणमा आइपुग्दा फेरि विभाजित मनस्थितिमा पुग्यो हैन त ?
समसामयिक राजनीतिलाई हेर्ने र अहिले खेल्नुपर्ने भूमिकामा विषयमा कांग्रेस एक ढिक्का छ । उम्मेदवार छनोट प्रक्रियामा केही असहमतिहरू सार्वजनिक भएका छन् । व्यक्ति छनोटका विषयमा फरकफरक धारणा त आउँछन् । उपनिर्वाचनको उम्मेदवार छनोट गर्दा साथीहरूले चाहना राख्नु स्वाभाविक हो । कुन मान्छेलाई टिकट दिँदा ठीक हुन्छ, भनेर घनिभूत छलफल त स्वाभाविक नै हो । यसलाई ढिला गर्नु हुन्थेन त्यो भएको हो । तर टिकट वितरणमा गुटगत मनमुटाव झनै बढ्यो भन्ने कुरा सही होइन । हामीले टिकट वितरण गर्दा ज—जसले पाउनु भयो सबै एक भएर नै वितरण गरेका छौं । कांग्रेसको अहिलेको राजनीतिलाई हेर्ने बुझ्ने र आगामी दिनमा कसरी जाने भन्ने सम्बन्धमा एक भएको छ ।
सभापतिले नै चाहेका पात्रलाई टिकट दिनुपर्ने थियो भने गाउँमा गएर रियालिटी बुझ्यौं, यस्तो छ अवस्था भनेर किन भन्या त ?
गाउँ बुझ्दाखेरि अवस्था के हो त्यो पनि थाहा हुन्छ । के कति समस्या छन्, कसरी समाधान गरेर आफ्नो उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने कुराहरू पनि आउँछ त्यसरी बुझ्दा । म त धेरै वर्ष जिल्लाको सभापति पनि भएँ, टिकटको सिफारिस पनि गरे र आफैं पनि चारपाँच पटक टिकट लिएर चुनाव लडेँ । यसरी गाउँठाउँमा पुगेर छलफल गर्दा कसलाई टिकट दिँदा अवस्था कस्तो हुन्छ, कसरी जिताउन सकिन्छ भन्ने कुराहरू सुझावको रूपमा पनि आउँछन् र ती सुझावहरूलाई कार्यान्वयन गर्नका लागि पार्टीले खेल्ने भूमिकाको विषयमा पनि हुने भएकाले यो प्रक्रिया राम्रो हो । यसैगरी चुनावमा टिकट वितरण गर्दा सबै कोणबाट हेर्न जरुरी हुन्छ । व्यक्तित्व, जातीय प्रभाव, भूगोललगायत तमाम कोणबाट हेर्दा कोही कुन कोणबाट ठीक देखिन्छन् भने कोही अर्को कोणबाट ठीक देखिन्छन् । त्यसैले अलिअलि अलमल देखिएको हो । खासगरी अन्य पार्टीमा एकल अधिनायकत्व छ, अझ भन्ने हो भने पार्टी प्रमुखले बोलिसकेपछि त्यहाँ कसैले छलफल गर्ने, वादविवाद गर्ने, तर्क गर्ने कुनै गुञ्जायस नै रहँदैन भने हिम्मत पनि गर्दैनन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको नाताले अलि हामीले फरक मत पनि राख्छौं । योभन्दा यो ठीक छ भने विकल्पसहित अडान पनि पार्टीमा राख्छौं । त्यही भएर हामीकहाँ अलि समय लागेको हो ।
कांग्रेस सभापतिले प्रस्ताव गरेका व्यक्ति नै हुने अनि हाम्रो सामूहिक नेतृत्व भनेर गफ दिन त नमिल्ला कि ?
सभापति भनेको नेपाली कांग्रेसको प्रमुख हो । प्रमुखको भूमिका अलि बढी रहने त्यो स्वाभाविक नै हो । तर, सभापतिले जे चाहन्छ, त्यही निर्णय भएको अवस्था पनि छैन । हामीले पछिल्लो आम निर्वाचनका बेला सभापतिले चाहेका मान्छेहरू पनि आएका छन् र सभापतिलाई फाल्नै पर्छ भन्नेहरू पनि आएका छन् । सबै समूहका नेताहरू बसेर सर्वसम्मत निर्णय गरेर पठाइएको हो । सभापतिले चाहेकै सबै हुन्छ भन्ने त होइन तर प्रभाव अलि बढी नै हुन्छ । त्यसको अर्थ यो पनि होइन कि सभापतिले बोलेपछि बोल्यो सिद्धियो अरूले छलफल नै गर्न नपाउने भन्ने नेपाली कांग्रेसमा हुँदैन ।
कांग्रेसका उम्मेदवारले उपचुनाव जित्छन् त ?
ढुक्कसँग भन्छु नेपाली कांग्रेसले उठाएका दुवै उम्मेदवारले चुनाव जित्छन् । जित्ने आधार भनेको, गठबन्धनबाट दिएका उम्मेदवारहरू छन्, हामी एक्लै चुनावी मैदानमा छौं । अघिल्लो पटक पनि हामी थोरै मतले पराजित भएका हौं ।
त्यतिबेला तपाईंहरू पनि ठूलै गठबन्धनमा हुनुहुन्थ्यो नि त्यो कुरा बिर्सन मिल्छ र ?
गठबन्धनमा भए पनि त्यतिबेला एमालेबाट शालीन व्यक्तित्व सुवासचन्द्र नेम्बाङ हुनुहुन्थ्यो भने चुनाव जित्नका लागि स्रोतसाधन पनि उहाँले लगाउनु भएको थियो । अर्को कुरा हामी गठबन्धनमा भइकन पनि धेरै जिल्लाहरूबाट जस्तै, त्यहाँ पनि गठबन्धन इमान्दार भएन भन्ने कुराहरू आएको थियो । अहिले एमालेमा पनि माओवादीसँग सहकार्य गर्ने कुराको विरोध भइराख्या छ । माओवादीसँग सहकार्य भयो भने पनि फाइदा हुन्छ कि बेफाइदा हुन्छ भन्ने छलफलको विषय त छ नि । अहिले सुवासजी जस्तो व्यक्ति उम्मेदवार पनि छैन । अहिले जुन ढंगले सत्तासमीकरण परिवर्तनको खेल भयो, अनि नयाँ भनिएका दलहरू पनि सत्ता बनाउने र गिराउने खेलमा लागेर जुन अस्थिरता निम्त्याउनु भएको छ यसले जनतामा निराशा नै छाएको छ । खास गरेर नयाँ भनिएका दलहरूप्रति जनताले कौतुहल देखाएका थिए, तर अहिले त्यो सबै धराशायी भएको छ । त्यसैले कांग्रेसप्रति जनताले विश्वास देखाउन सक्छन् भन्ने हाम्रो बुझाइ हो । कांग्रेसका त्रुटि नै छैनन् भन्ने त होइन, अझैं पनि कांग्रेस सच्चिनु पर्छ । कांग्रेसले आफूलाई सच्याएर प्रस्तुत हुनुपर्छ भन्ने चाहना जनतामा देखियो । तर मुलुकको नेतृत्व गर्नलाई र जनताका एजेन्डा सदनमा पु¥याउनका लागि कांग्रेसकै उम्मेदवार इमान्दार रहन्छन् भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् ।
तर, कांग्रेसले कांग्रेसलाई नै चुनाव हराउँछन् भन्ने चर्चा पनि चल्छ नि, ३६४ दिन कांग्रेस, भोट हाल्ने दिन अरू चिह्न खोज्दै हिँड्ने त रोग नै छ है ?
त्यो त हो । तपाईंले एकदमै सही कुरा उठाउनु भयो । यो रोग गम्भीर रूपमा नेपाली कांग्रेसभित्र छ । यसलाई रोक्न सकिएन भने इलाम र बझाङका जनताले आमरूपमा चाहेका उम्मेदवारले नजित्न पनि सक्छन् । उनीहरूले चाहेको कांग्रेसको उम्मेदवार हो । तपाईंले भनेको जस्तो ३६४ दिन कांग्रेस हुने अनि भोट हाल्ने दिनमा चुनाव चिह्न अर्कै खोज्दै हिँड्ने अवस्था छ । अनि कतिसम्म भने कांग्रेस पार्टीलाई भोट पनि नहाल्ने तर कांग्रेस छोडिन्न भने जुन प्रबृत्ति छ, त्यसलाई कठोरतापूर्वक यसमा नेताहरू लाग्नु भएन भने कांग्रेसले उपचुनाव जित्न गाह्रो पनि छ । तपाईंले लेखेर राख्नुस् वैशाख १५ गतेको उपचुनावमा यदि कांग्रेसका उम्मेदवार पराजित हुन्छन् भने कांग्रेसले नै हराएको बुझ्नु पर्छ ।
उम्मेदवार छनोटको प्रसंगमा संस्थापन इतरका नेताहरूले हारजितको जिम्मा सभापतिले लिनुपर्छ भन्नु भएको कुरालाई कसरी बुझ्ने ?
अब यो प्रश्न सान्दर्भिक छ जस्तो लाग्दैन । सर्वसम्मत निर्णय भएर आइसकेपछि आफ्ना उम्मेदवारलाई जिताउनका लागि सबै सामूहिक रूपमा लाग्नुपर्छ । उम्मेदवार छनोट नगर्दासम्म त तर्क र बहस हुनुलाई स्वाभाविक रूपमा नै लिनुपर्छ । अब यो प्रसंगलाई धेरै तन्क्याउन जरुरी छ जस्तो लाग्दैन मलाई । फस्टम्यानका हिसाबले बढी जिम्मा सभापतिले लिनुपर्छ भन्नु भएको हो । अरूको चाहनाअनुसारको उम्मेदवार छनोट भए पनि अन्तिममा सही गर्ने त सभापतिले नै हो । त्यसैले अरूले सिफारिस गरेकाले मैले मानिदिए नतिजा खराब आउँदा अरूलाई दोष थुपार्ने राम्रो हुँदा आफूले जस लिने कुरा स्वीकार्य हुँदैन । त्यसैले सम्पूर्ण कुराको जिम्मा त सभापतिकै हो । यसमा सँगसँगै केन्द्रीय कार्यसमितिको पनि जिम्मेवारीमा पर्छ । आम रूपमा नेपाली कांग्रेस गठबन्धनमा होइन एक्लै चुनाव लड्नुपर्छ भन्ने कुरालाई पुष्टि गर्ने आधार पनि अहिले बलियो बनेको छ । त्यसैले मेरो तेरो गुट, उपगुट नभनेर सबै एकजुट भएर चुनाव जिताउन लाग्नुपर्छ ।
अब गठबन्धनको कुरा ।
अहिले नयाँ गठबन्धन किन बन्यो ?
अहिलेको सरकारी गठबन्धन भनेको २०७९ सालको चुनावमा जनताले दिएको जनादेशविपरीतको गठबन्धन हो । त्योभन्दा अगाडि २०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धन भयो, त्यो गठबन्धनलाई बहुमत दिएको अवस्था हो । २०७९ सालको चुनावमा कांग्रेस माओवादीसहित केही अरू पार्टीको बीचमा गठबन्धन गरेका थियौं । त्यही गठबन्धनलाई जनताले अनुमोदन पनि गरेका थिए । त्यसैले अहिले बनेको नयाँ गठबन्धनले काम सुरु गरेकै दिनदेखि प्रधानमन्त्री प्रचण्डजीलाई के डर भयो, सत्तामा नभई नहुने, प्रधानमन्त्री नभई नहुने, एक सेकेन्ड पनि प्रधानमन्त्रीको कुर्सीबाट हट्न नसक्ने के डर हो या के बाध्यता हो त्यो थाहा भएन । प्रचण्डका कारण कांग्रेस माओवादी गठबन्धन भत्कन गएको हो । अहिले बनेको गठबन्धन अस्वाभाविक गठबन्धन हो । पहिला पनि यो गठबन्धन बनेकै हो, त्यतिबेला भत्किएकै हो । त्यसैले धेरै टिप्पणी नगरौं । कुरा के हो भने पछिल्लो सरकारी गठबन्धनमा हामी थियौं । हामी गठबन्धनमा रहुँन्जेल जहिले पनि इमान्दार बन्यौं । हामीलाई जनताले जुन हिसाबले मत दिएका थिए त्यसमा हामी प्रतिबद्ध छौं । जनताले केपी शर्मा ओलीले बारम्बार संसद् भंग गरेर देशमा अधिनायकवाद लाद्न खोजेकाले जनताले कांग्रेससँगको गठबन्धनलाई अनुमोदन गरेकाले हामी पाँच वर्ष इमान्दार बन्नुपर्छ भनेर लाग्यौं । तर प्रचण्डजीलाई के को डर लाग्यो कुन्नि उहाँले नै गठबन्धन भत्काउनु भयो । लोकतन्त्र र संविधान जोगाउनका लागि इमान्दार भएका थियौं ।
सुरुमा तपाईंहरू इमान्दार भएको मान्न सकिन्न कि, त्यतिबेला प्रचण्डले मलाई प्रधानमन्त्री बनाउनुस् भन्दा तपाईंहरूले नमान्दा माओवादी एमाले गठबन्धन बनेको होइन र ?
हाम्रो सभापतिले त्यतिबेला प्रधानमन्त्रीमा दाबी गर्नु गठबन्धनप्रति इमान्दार नभएर हो र । हामीले त्यतिबेला अर्को गठबन्धन पनि बनाउन खोजेको होइन नि । गठबन्धनको नेतृत्व ठूलो पार्टी भएको हुनाले हामी दाबी गरौं । लोकतन्त्र भनेकै बहुमतको शासन हो । पछि ओलीजीले भन्दै हुनुहुन्थ्यो त, कति पटक शेरबहादुर देउवाजीलाई भेट्न धेरै प्रयास गरे पनि सफल भएनौं भनेर । हामी गठबन्धनमा इमान्दार हुँदाहुँदै पनि नयाँ गठबन्धन बनेको छ ।
कांग्रेसबाट बनेका मन्त्रीहरू फेर्नलाई सभापतिले नमानेकाले गठबन्धन फेरेको कुरा छ त ?
त्यस्तो केही होइन । एक, दुई जना मन्त्रीका कारण गठबन्धन तोड्ने भन्ने कुरा हुन्छ र । त्यो त बहानाबाजीमात्रै हो । यस्तै प्रचण्डले केही ठाउँमा कांग्रेस महासमिति बैठकको प्रस्तावका विषयलाई आरोप लगाउनु भयो । उहाँले आफ्नो दस्तावेजमा प्रधान शत्रु नेपाली कांग्रेस भनेर लेख्न हुने अनि हामीले महासमितिमा प्रस्तावमा माओवादीको बारेमा छलफल पनि गर्न नहुने भन्ने कुरा हुन्छ र । उहाँहरूले कांग्रेसलाई प्रधान शत्रु घोषणा गर्दा पनि मुलुकका लागि हामी एक ठाउँमा उभिएको पार्टी हो । त्यसैले एउटा दुईवटा मन्त्रीको कुरा त समाधान भइहाल्थ्यो ।
नयाँ गठबन्धन बनेपछि प्रचण्डप्रति नरम, एमालेप्रति झनै नरम र रविप्रति अलि बढी कठोर हो ?
होइन । हामी व्यक्तिको पछि लाग्दैनौं । हाम्रो एकमात्र कुरा के हो भने स्वार्थ बाझिन भएन । रविजीलाई अघिल्लो पटक पनि गृहमन्त्री नभई भएन । किनभने उहाँ पासपोर्ट र नागरिकताको केसमा मुछिनु भएको थियो, उहाँमाथि प्रश्नहरू उठिरहेका थिए त्यतिबेला गृहमन्त्री नभई भएन । जुन केस रविजीलाई परेको छ, त्यो केस म अर्जुन जोशीलाई परेको भए म जेलमा हुने थिएँ । उहाँलाई त्यो केस लाग्दा गृहमन्त्री भएकाले उहाँ बाहिर बस्नुभयो । जेल पनि जान परेन । अहिले पनि जो आफैं अनसुन्धानमा रहेको व्यक्ति त्यही मन्त्रालयमा मन्त्री हुँदा त स्वार्थ बाझिहाल्छ नि । अहिले पनि यत्रो सहकारी ठगीमा संलग्न रहेको कुरा आएको छ, उहाँमाथि आरोप मात्रै हो या उजुरी दर्ता भएको छ, त्यो आरोप लागिसकेपछि छानबिन गर्ने निकाय गृह मन्त्रालय मातहतकै निकाय हुन् । तर उहाँ नै गृहमन्त्री भएपछि छानबिन निष्पक्ष होला त ? प्रश्न हाम्रो यो हो । त्यसैले व्यक्तिको कुरा होइन, गृहमन्त्रीको कुरा हो । त्यो कुुर्सीमा त जो पनि बस्न सक्छ । तर स्वार्थ बाझिन भएन भन्ने मात्रै हाम्रो कुरा हो ।
रविजी सांसदमात्रै हुँदाखेरि त्यो कुरा उठाई दिएको भए हुँदैनथ्यो ?
यो कुरा बल्ल सुरु भएको हो । सहकारीका कुराहरू बल्ल आउँदै छन् । त्यतिबेला रविका विरुद्ध जाहेरी दर्ता भएको थियो, नारायणकाजी गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले छानबिन हुँदैछ भन्नु भएको थियो तर उहाँ गृह मन्त्रालय छाडेर परराष्ट्र मन्त्री बन्नुभयो ।
अहिलेको गठबन्धनको आयु कति ?
अस्वाभाविक र स्वार्थका लागि मन कुढ्याइँ कुढ्याँइ बनेको यो गठबन्धन संसद्मा बहुमत रहुन्जेल गठबन्धन रहन्छ । नहुँदा दिनमा ढल्छ । अहिलेको गठबन्धन प्राविधिकमात्रै हो । मनको मिलन छैन ।
पछिल्लो समय कांग्रेस एमोलबीचमा खुसामद भएको चर्चा छ ?
कति खुसामद भएको छ भन्ने कुरा त नेताहरूलाई नै थाहा होला । तर एउटा कुरा के हो भने जनताले विश्वास गरेको ठूलो पार्टी, एक नम्बरको पार्टी नेपाली कांग्रेस, दुई नम्बरको पार्टी एमालेले सोच्नु पर्छ अब । मुलुकलाई स्थिरता दिनका लागि मिल्नुपर्छ । ठूलो पार्टी हुनु भनेको केवल सत्तामा जाने अनि हालिमुहाली गर्ने मात्रै होइन । ठूलो पार्टी भनेको ठूलो जिम्मेवारी पनि हो । जनताले ठूलो पार्टी बनाइसकेपछि धेरै जिम्मेवारी दिइएको हो । त्यसर्थमा कांग्रेसले के बुझ्नुपर्छ भने मलाई मेरो पार्टी नेपाली कांग्रेसलाई जनताले सबैभन्दा बढी भरोसा गरेको छ, त्यसले जनताका र मुलुकका प्रति धेरै जवाफदेहिता छ भन्ने ढंगले कांग्रेसले त्यो ढंगले सोच्नुप¥यो । एमालेले पनि दोस्रो पार्टी म हो भन्ने हिसावले सोच्नुपर्छ ।
भ्यागुताको धार्नी पु¥याउनुभन्दा कांग्रेस, एमाले मिलेर ढक नै बनाऔं भनेको हो ?
त्यसरी भन्नुभन्दा पनि ठूला पार्टीहरू मिलेर अघि बढ्दा अरूले पनि आफ्नो हैसियत र जिम्मेवारीअनुसार प्रस्तुत हुन्छन् । कांग्रेस र एमाले मिल्न नहुने भन्ने कहीँ लेखेको छैन । संविधान बनाउँदा कांग्रेस एमाले मिलेकै हुन् । अब संविधान जोगाउँदै जनताको जीवनस्तर माथि उठाउनका लागि फेरि मिल्नुपर्छ ।
प्रतिक्रिया