देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति/असहमति -गजल गायनमा उत्साह




अरबी माटोबाट भारत हुँदै नेपाल छिरेको काव्यको सुकोमल र सशक्त विधा गजल अहिले लेखन र गायन दुवैमा सशक्त बन्दै आएको छ । युवाकवि मोतीराम भट्टले हिन्दी साहित्यबाट सय सय वर्षअघि नेपाली साहित्यमा भित्र्याएको गजल लेखनसँगै परिष्कारको यात्रामा पनि देखिन्छ ।
अनेक प्रयोग, बहस र विवादसँगै नेपालमा गजल–लेखन तीव्र बनिरहेको छ । युवा र बूढा सबै उमेर समूहका स्रष्टा गजल लेखनमा आकर्षित छन् । यसरी नै गजल गायनले पनि पछिल्लो समय तीव्रता लिइरहेको छ ।

विक्रमको १९६० कै दशकमा सेतुरामले मोतीराम भट्टको रचना ‘यता हे¥यो यतै मेरा नजर्मा राम प्यारा छन्’ गाएपछि नेपालमा साङ्गीतिक सिर्जना गायनमा रेकर्डको आरम्भ भएको मानिन्छ । मोतीरामले रचना गरेका र त्यसबेला मोतीराम गजल–लेखनमा सक्रिय रहेका हुँदा उनी बितेको दशकपछि रेकर्ड भएको उक्त रचनालाई गजल भनिएको देखिन्छ । तर, संरचनाका आधारमा उक्त रचना गजल भएको छैन, बहरमा भने रहेको छ– काफिया छैन ।
जे भए पनि उक्त रचना रेकर्ड भएपछि नेपाली सङ्गीतमा रेकर्ड आरम्भ भएको हो भन्ने मत छ अध्येताहरूको ।
विक्रमको २००० को दशकसँगै सुषुप्त रहेको नेपाली गजल–लेखनले २०३५ पछि मात्र शिर उठायो । तथापि, यसबीचमा नेपाली गजलपरम्पराले शास्त्रीय धार त्यागेर अघि बढ्न चाह्यो । लेखनमा गैर शास्त्रीय परम्परा बस्न थाल्यो तर गायनमा आउन सकेन । लोक र आधुनिक अनि बिस्तारै पप सङ्गीतको प्रभाव बढिरहेको समयमा शास्त्रीय निकट गजल सङ्गीतमा आउन सकेन । स्थापित सङ्गीतकर्मीहरू र गायक÷गायिकाले समेत गजलमा रुचि देखाएनन् ।

यसबीचमा मविवि शाहका केही रचना दीपक जङ्गमको सङ्गीत र गुलाम अलीको स्वरमा गजल भनेर गाइएका पाइन्छ तर ती गजल थिएनन्– गीत थिए ।
गजलको संरचना विशिष्ट प्राविधिक हुने तथ्य नेपाली साहित्यमा भर्खर बोध हुँदै गयो । गुलाम अलीपछिका अन्य सङ्गीतकार र गायक÷गायिकाले पनि केही रचना गजलकै नाममा गाएका पाइन्छ । अमर गुरुङ, शक्तिबल्लभ, न्ह्यु बज्राचार्य, बुलु मुकारुङदेखि महेश खड्का, हरि लम्साल, मनोजराज शिवाकोटी, सन्तोष श्रेष्ठ आदिले गजल सङ्गीतमा चासो राखेका छन् । वरिष्ठ गायिका ज्ञानु राणादेखि नयाँ पुस्ताका रचना रिमाल, अस्मिता अधिकारीसम्मले गजल गायनमा रुचि देखाएका छन् । पछिल्ला नेपाली चलचित्रमा र गीति एल्बममा समेत गजल राख्ने लहर चलेको छ, भलै, ती रचनाको ‘गजलीयता’बारे विमर्श जारी छ ।
वास्तवमा यो अत्यन्त खुसीको कुरो भयो । तर, गजल–लेखनमा जस्तै गायनमा पनि शास्त्रीयताको खोजी हुन थालेको छ । केही सङ्गीतकार र गायक÷गायिकाले गजलको विशुद्ध शास्त्रीयता हुने तथ्य महशुस गर्दै सङ्गीत गर्ने, गाउने र एल्बम प्रकाशन गर्ने क्रम पनि सुरू भएको छ ।

गत वर्षमात्र यही पङ्क्तिकार घनेन्द्र ओझाका शब्दमा सन्तोष श्रेष्ठको एकल सङ्गीतमा ‘शुभेच्छा’ नामक गजल एल्बम सार्वजनिक भएको छ । सङ्गीतकार श्रेष्ठका अनुसार उक्त एल्बम शास्त्रीय बहरमा लेखिएका नेपाली गजलको पहिलो एल्बम हो ।
पहिलो पुस्ताकी ज्ञानु राणा, दोस्रो पुस्ताका आनन्द कार्की, तेस्रो पुस्ताका सन्तोष श्रेष्ठ, निशा देशार, शिव परियार र चौथो पुस्ताकी अस्मिता अधिकारी गरी नेपाली गायन क्षेत्रका चार पुस्ताका स्वर उक्त एल्बममा समेटिएको छ ।
उक्त एल्बमपछि नेपाली शास्त्रीय गजल गायनको क्रम पनि क्रमशः बढिरहेको अवस्था छ । साङ्गीतिक गजल मुशायराहरू पनि भइरहेका छन्– जहाँ शास्त्रीय गजल गायन हुने गर्छ ।
उसो त, २०६३÷६४ सालमै अनाममण्डलीले गुरुकुलमा केहीपटक शास्त्रीय गजलहरूको प्रत्यक्ष गायन गरिसकेको थियो । उक्त गायनमा आजका प्रसिद्ध गायक÷गायिकाहरू शिव परियार, इन्दिरा जोशी, माण्डवी त्रिपाठी, रूपक डोटेल, सुवास अगम, डेनी निरौला, झुमा निरौला आदिले आफ्नो प्रस्तुति बहरबद्ध गजलहरूमा दिएका थिए ।
अञ्जु पन्त, सत्य–स्वरूपराज आचार्य, सरोजा देवान, मनोजराजहरूले गजल गायनमा विशेष रुचि देखाए पनि निरन्तरता हुन सकेको पाइँदैन । यसको प्रमुख कारण गजलको शास्त्रीयताबारे अनभिज्ञता र गजल सङ्गीत÷गायनबारेको अलमल नै हो भन्ने बुझिन्छ । सँगसँगै गजल रेकर्डमा लाग्ने खर्च र त्यसबाट न्यून मात्रामा हुने आम्दानी पनि कारक देखिन्छ ।
सङ्गीतका क्षेत्रमा संलग्न संस्था तथा कम्पनीको पहल, राज्यबाट केही सहयोग अनि सङ्गीतकार, गायक÷गायिकामा गजल गायनबारे रुचि र अध्ययन बढाउन सके नेपाली गजल गायनका लागि आगामी दशक संवरण युग बन्न सक्ने देखिन्छ । यो तथ्य कुरो भएको र यसलाई कामबाट प्रमाणित गर्न सकिने कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ बताउँछन् ।
उसो त, साहित्य, कला र सङ्गीतको श्रीवृद्धिका लागि राज्यद्वारा स्थापित निकायहरू अर्थात् तीनवटै प्रज्ञा प्रतिष्ठानहरू गजलप्रति सकारात्मक देखिँदैनज् । यो त्यहाँ पदमा रहेका प्राज्ञको गजलप्रतिको अनभिज्ञताको परिणाम हो । उनीहरूमा गजलबारे ज्ञान नहुनाले त्यता चासो र लगानी नभएको हो । अब यी निकायलाई समेत गजलप्रति ध्यान दिन घच्घच्याउने र दबाव दिने बेला भएको छ ।