‘देशान्तर साप्ताहिक’का प्रिय पाठक,
केही समयअघि मैले वररुचिको कथा सुनाउँदा सुनाउँदै अन्य प्रसंगहरू लेख्नु परेको थियो कारणवश । अब त्यसै कथालाई अघि बढाउँदछु ।
यो त अघि नै ज्ञान भइसक्यो, राजा नन्दको शरीरमा प्रवेश गरेको इन्द्रदत्तले, राजाका रूपमा अनेक खराब काम गर्न थाल्यो । शकटार उसको मन्त्री थियो । वररुचि पनि पछि मन्त्री भयो । तर केही कारणले जस्तो राजाको रानीको चित्रमा आवश्यक ठानेर अनुमानले वररुचिले एउटा कोठी बनाउन लगाइदियो । कोठी साँच्चिकै रानीको कम्मरमा थियो । त्यो देखेपछि राजालाई वररुचिमाथि सन्देह भयो र उसलाई मार्ने आदेश दियो । शकटारले वररुचिलाई मारेन । भन्यो- ‘तिमी बुद्धिमान छौ । तिमी लुकेर बस, म राजालाई मारिदिएँ भन्दिन्छु ।’
वररुचिले भन्यो- ‘तिमी बुझ्ने छौं शकटार, हुन त तिमीले चाहे पनि मलाई मार्न सक्दैन थियौं ।’
कसरी भन्यौ ? शकटारले चकित भएर भन्यो । वररुचिले भन्यो- एउटा राक्षस मेरो मित्र छ, त्यसले बचाउँथ्यो ।’
‘राक्षससँग तिम्रो मित्रता कसरी भयो, मलाई विस्तारले बताऊ ।’
वररुचिले राक्षसको कथा सुनायो । पातलीपत्र नगरमा जो पनि नगर प्रमुख हुन्थ्यो, त्यसलाई राति घुम्दा कसैले धपाई दिन्थ्यो । यो रहस्य अचम्मको थियो ।
एकपटक नगर प्रमुख वररुचिलाई बनाइयो । वररुचि नगरको सुरक्षाका लागि राति घुम्न थाल्यो, नगरको विभिन्न ठाउँमा एकदिन एउटा सुनसान ठाउँमा एउटा राक्षसले समायो । वररुचिले बुझ्यो हत्यारा राक्षस नै रहेछ । राक्षसको सामान्य गर्न तत्पर भयो, हेरुँ न यसले के गर्दाे रहेछ ।
राक्षसले प्रश्न गर्यो- मलाई बताऊ यो नगरमा सबभन्दा सुन्दर स्त्री को छ ? वररुचिले हाँस्दै भने तिमी मूर्ख रहेछौं, त्यति पनि जान्दैनौ ? हे मूर्ख, जसको मन जसमाथि जान्छ, त्यसका लागि त्यही स्त्री सुन्दर हो ।’
वररुचिको उत्तर सुनेर राक्षसको चित्त बुझ्यो । उसले प्रसन्न हुँदै भन्यो, तिम्रो उत्तरले म प्रसन्न भएँ । अब म तिमीलाई मार्दिनँ । आजदेखि तिमी मेरो मित्र भयो । तिमीले मलाई जहिले, जहाँसुकै स्मरण गर्नासाथ म प्रकट हुनेछु र तिम्रो सहायता गर्नेछु । तिमी आजदेखि आफूलाई सुरक्षित ठान ।’
वररुचिले आफ्नो जीवनको पछिको कथा सुनाउन थाल्यो । पाठकहरूलाई याद होला यो कथा वररुचिले काणभूति नामक प्रेतलाई सुनाएको हो ।
वररुचिले भन्यो यसरी । धेरे दिनसम्म शकटारले वररुचिलाई एक सुरक्षित ठाउँमा लुकाएर राख्यो । एकपटक राजा योगनन्दलाई एउटा संकट आइपर्यो । उसको छोरो हिरण्यगुप्त थियो । राजकुमार हिरण्यगुप्त एकदिन पागल भयो । ऊ जथाभावी बोल्न र गर्न थाल्यो । त्यसरी जे पायो त्यही गर्ने मस्तिष्क बिग्रेको राजकुमारले भोलिपल्ट कसरी समाल्ला ?
राजा चिन्तित रहन थाल्यो । त्यही मौकामा एकदिन शकटारले राजालाई भन्यो- अहिले वररुचि भएको भए, राजकुमारको पागलपनको कारण तत्काल थाहा पाउने थियो महाराज ।’
योगनन्द राजालाई त्यस समय साँच्चिकै वररुचिको सम्झना आयो ।
त्यही अवसर उचित देखेर शकटारले भन्यो । ‘महाराज एउटा रहस्य भन्न सक्छु, तपाईं शान्त रहने वचन दिनुहुन्छ भने ।
राजाले भन्यो- ‘म शान्त रहने वचन दिन्छु । के रहस्य हो, भन ।’
शकटारले भन्यो- ‘वररुचि जीवितै छ ।’
‘हँ ? कसरी ? ‘राजाले आश्चर्य प्रकट भन्यो ।’
शकटारले भन्यो- ‘त्यो बेग्लै कथा छ, अहिले उसको आवश्यकता हामीलाई छ, त्यो बुझ्नु पर्यो ।’
राजाले भन्यो, वररुचिलाई कसरी भेट्न सकिन्छ त ?’
त्यसपछि शकटारले चतुर्याइँ गरेर मिलाएको हुनाले, वररुचि राजा योगनन्दका समक्ष प्रकट भयो । राजा यस पटक प्रसन्न भए । उसले बिस्र्याे कुनै बखत उसैले वररुचिलाई मार्ने आदेश दिएको थियो । राजाले सोध्यो वररुचि मलाई बताऊ, मेरो पुत्रको यस्तो दशा हुनाको कारण के होला ?
वररुचिले भन्यो, म यिनको परीक्षण गर्छु अनि बताउँछु । परीक्षणमा केही होइन, उनी मेरासामु आउन्, म उनलाई निरीक्षण गरेरै बताइदिन सक्छु ।’
राजकुमारलाई उपस्थित गराइयो । ऊ आएर बस्यो । तर सबले देख्न सक्थे, ऊ स्वाभाविक छैन । बसेको बस्यौ बिना काम हाँस्ने वा अनावश्यक रूपले हाँस्ने, बसेको बस्यै नाचेझै गर्ने र आफ्नो नृत्यमा आफैं खुसी भएर थपडी बजाउने आदि गरिरहेको थियो ।
वररुचिले राजकुमारका ती सारा क्रियाकलापको अध्ययन गर्दै हेरिरह्यो । उसले राजकुमारलाई हातले छोएन, न कुनै मन्त्र फुक्यो । उसका आँखामा एकनासले हेर्यो । क्षण बित्दै गए । वररुचि मौन थियो । धेरै बेर बितेपछि उसले घोषणा गर्यो ‘हे राजन् तथा अन्य सारा मन्त्री र यहाँ उपस्थित भारदारहरू,
राजकुमारको कुनै बखत, एउटा अत्यन्त मिल्ने मित्र थियो । धेरै पुरानो मित्र भए पनि एक पटक यिनले मित्रलाई धोका दिए । मित्रघाट गरेपछि, निर्दाेष मित्रले राजकुमारलाई श्राप दियो राजकुमार, तिमीले घमण्डवश, जुन मस्तिष्कको सहायताले मेराविरुद्ध जाल बुन्यौं र मप्रति घाट गर्यांै, त्यो तिम्रो विकृत मस्तिष्क झन् विकृत होस् तिमी त्यसका प्रभावले पागल बन्नेछौं, यो म निर्दाेष मित्रको श्राप हो । त्यही मित्र घाँट र मित्र श्रापका कारण राजकुमार पागल भएका हुन् ।
राजकुमारलाई सोधियो- ‘के तिमीले मित्रघाट गरेका छौ ?’
राजकुमारले मुन्टो निहुर्याएर मसिनो स्वरमा भन्यो, ‘मैले मित्र घात गरेको थिएँ । उसको श्रापपछि नै यस्तो भएको हो ।’
राजकुमारले स्वीकार गर्नासाथ, चमत्कार भयो । उसका पागलपन तत्काल ठीक भयो । प्रसन्न राजाले सोध्यो- ‘तिमीले यो रहस्य कसरी जान्यौं ?’
वररुचिले हाँसेर भन्यो- ‘त्यसैगरी तिम्री रानीको कम्मरमा कोठी भएको रहस्य जानेको थिएँ । आफ्नो प्राज्ञद्वारा ।’
राजाले वररुचिको निकै सम्मान गर्यो । उसले पुनः मन्त्री भन्ने अनुरोध वररुचिलाई गर्यो तर वररुचिले ती सारा कुराको उपेक्षा गर्यो र आफ्नो सादा भेषमा घरका लागि हिँड्यो ।
प्रतिक्रिया