नेपाल प्रज्ञाप्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शन, संस्कृति र सामाजिकशास्त्रका क्षेत्रमा काम गर्न स्थापित राज्यको निकाय हो । वार्षिक १६ करोड रुपैयाँभन्दा बढी यसकै नाममा बजेट छुट्टिन्छ । त्यसको ७५ प्रतिशत जति कर्मचारी पाल्न र अन्य चालू खर्चका रूपमा सकिन्छ । बाँकी ३ देखि ४ करोड रुपैयाँमध्ये पनि प्राज्ञका ‘भैपरी’ आउनेलगायतमा खर्च भएर बचेको अत्यन्त सीमित रकम मात्र तोकिएका क्षेत्रमा खर्च हुन्छ ।
प्राज्ञहरू ‘बजेटै छैन, केही गर्नै नसकिने रहेछ’ भन्दै रोइलो मच्चाउँदै गरेका सुनिन्छ । तर, कुलपति स्वयं प्रतिष्ठानकै आयोजनामा एकल कवितावाचन गर्दै हिँड्छन्, अमूक राजनीतिक संगठनका कार्यक्रमलाई लाखौँ रुपैयाँ बाँड्छन्, आफ्नो कार्यक्षेत्रबाहिरका विषयमा बहस र अनुसन्धानका लागि पैसो बाँड्छन् । अझ, करिब सात दर्जन स्थायी कर्मचारीलाई ‘ज्वाइँ’ जसरी पालेर थप पाँच दर्जन कार्यकर्ता करारमा भर्ना गरेर राज्यकोषमा तर मार्छन् प्राज्ञहरू । अनि, बाहिर भन्छन्, ‘पैसै छैन, केही गर्नै नसकिने रहेछ ।’
विगतदेखि नै प्रज्ञाप्रतिष्ठानहरूमा राजनीतिक नियुक्ति हुँदै आएको हो । थोर-बहुत राजनीतिक प्रभाव सूक्ष्म रूपले हेर्दा विगतमा पनि देखिन्थ्यो तर त्यो नगण्यझैँ थियो । वर्तमान परिषद् आएपछि भने नेपाल प्रज्ञाप्रतिष्ठान ‘प्राज्ञिक नर्क’ जस्तो बनिरहेको छ । नेकपा (माओवादी केन्द्र)का संस्कृतिमन्त्रीको सिफारिसमा माओवादी केन्द्रकै प्रधानमन्त्रीले नियुक्त गरेका माओवादी कार्यकर्ताहरूले प्रतिष्ठानलाई ‘कृष्ण सेन इच्छुक प्रतिष्ठान’भन्दा उपल्लो ठानिरहेका छैनन् । माओवादीको एउटा संगठनको हैसियतमा प्रतिष्ठान चलाइरहेका छन् । यसको पछिल्लो उदाहरण केहीदिनअघि प्रकाशित अनुसन्धान प्रस्ताव आह्वानसम्बन्धी सूचना पनि हो ।
उक्त सूचनामा १ नम्बर बुँदामा ‘सशस्त्र जनयुद्धको सौन्दर्यशास्त्रीय अध्ययन’ भनिएको छ । यसको सबै पक्षबाट व्यापक आलोचना भइरहे पनि कार्यकर्ता स्तरका प्राज्ञहरूले सुन्ने र सच्याउने चेष्टा गरेका छैनन् ।
कुनै कालखण्डमा अमूक व्यक्तिका सनकमा, स्वार्थमा र नियतमा गरिएका, मच्चाइएका हिंसा, हत्या, आतंक र लुटका सौन्दर्य खोज्ने बेइमानी र नालायक सोच कसरी आयो होला प्राज्ञहरूमा ?
प्राज्ञलाई प्रतिष्ठानले नै प्रकाशन गरेको बृहत् नेपाली शब्दकोशमा ‘अध्ययनबाट प्रशस्त ज्ञान आर्जन गरेको, विशिष्ट विद्वान्, पण्डित, विज्ञ, प्रखर वा परिपक्व बुद्धि भएको, बुद्धिमान’ भनिएको रहेछ । लाग्छ, हाम्रा प्राज्ञहरूले आफ्नो हैसियतबारे नै बुझेका छैनन् । अमूक दल र नेताको भक्ति भजन नै आफ्नो परम् कर्तव्य मानिरहेका छन् ।
देशमा १२५ वटाभन्दा बढी भाषा छन्, सोहीअनुसारका संस्कृति, दर्शन र समाज छन्, तिनका साहित्य छन् तर प्राज्ञहरू बालकृष्ण सम र माक्र्सवादको सान्दर्भिकता खोज्न, नेपालमा लेनिनवाद र माओवादका औचित्य पुष्टि गराउन कुनै एउटा समूहलाई बजेट खन्याइरहेका छन् ।
केही प्राज्ञ सदस्यहरू विवेकी जस्ता लाग्छन् । एक जना प्राज्ञ सदस्यले दुई दिनअघि फोन गरेर पंक्तिकारलाई ‘सम्झाउने’ दुष्प्रयास गर्नुभयो । अलिअलि सोमरसको छनक आवाजमा सुनियो । पंक्तिकारले भन्यो, ‘तपाईंजस्ता बौद्धिक र प्राज्ञिक ठानिएका व्यक्तिहरू पनि हुनुहुन्छ सभामा, गलत काम रोक्न किन पहल नगरेको ?’
उहाँको भनाइ थियो, ‘म कसैलाई सल्लाह सुझाव दिन चाहन्नँ ।’
‘तब किन यसरी निरीह बनेर कलंकित बन्ने ?’
उहाँलाई ‘प्राज्ञ’ भनिने र बैठकमा समोसा-चिया खाएर थोरै भत्ता च्यापेर हिँड्न पाए पुग्ने बुझेँ र फोन काटिदिएँ । पुनः कल गर्नु भए पनि उठाउन मन लागेन ।
यसको आशय- त्यहाँ नियुक्त भएकाहरूको प्रज्ञा र विवेक केले यसरी ध्वस्त पारिरहेको छ ? किन यति भ्रष्ट र अनैतिक बनिरहेका छन् बौद्धिक भनिएकाहरू ? किन बदनाम गराइरहेका छन् राज्यको एउटा महत्वपूर्ण निकायको ?
अनि, यी सबै अव्यवस्था र बेइमानी देखेर पनि साहित्य, समाजको ठूलो तप्का किन मौन छ ? किन टुलुटुलु हेरी मात्र रहेका छौँ यी विद्रुप दृश्यहरू ? के अब प्रज्ञा प्रतिष्ठानहरूको साख र गरिमा जोगाउन कस्सिनु पर्दैन हामी ?
प्रतिक्रिया