देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने

देशान्तर


काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ ।
कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

कामपा स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनका अनुसार यसका लागि कामपाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस)को ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालेको छ । युजरनेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा कामपा स्वास्थ्य विभागले प्रशिक्षण दिने तयारी गरेको महर्जनले जानकारी दिएकी छन् । उनका अनुसार यस विषयमा कामपाले स्वास्थ्य संस्थालाई परामर्श दिन थालेको छ । प्रमुख महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा आएको थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै एकीकृत प्रणाली कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।


उक्त व्यवस्थाले कामपामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई नियमन र व्यवस्थापन गर्न सहयोग पुग्ने कामपाको भनाइ छ । केही दिनदेखि कामपाले स्वास्थ्य संस्थाको थप व्यवस्थापनका लागि नियमितरूपमा अनुगमन गरिरहेको छ । कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख गरिएको छ ।
रासस