काठमाडौँ ।स्व .मीन कुमारी राणा प्रतिष्ठानले तीन जनालाई पुरस्कृत र सम्मान गर्ने भएको छ ।
स्व. मीन कुमारी राणाको दोस्रो पुण्य तिथिका अवसरमा बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार एक जना प्रजातन्त्र सेनानी एक जना र राष्ट्रिय खेलाडी एक जना पुरस्कृत र सम्मानित हुने प्रतिष्ठानका अध्यक्ष कविर राणाले जानकारी दिएका छन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वरिष्ठ पत्रकार किशोर नेपाललाई राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान , पूर्व सांसद लेखनाथ न्यौपानेलाई प्रजातन्त्र सेनानी पुरस्कार र राष्ट्रिय बक्सिङ खेलाडी प्रकाश थापा मगरलाई राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिएका छन् । प्रतिष्ठानको केही समय पहिले बसेको पुरस्कार छनौट समितिले पुरस्कृत गर्ने व्यक्तित्वको छनौट गरेको थियो ।
उनीहरूलाई नगद राशि सहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिने छ । साथै प्रतिष्ठानका सल्लाहकारहरूलाई पनि सम्मान गर्ने निर्णय भएको छ । साथै भक्तपुर स्थित आदर्श माध्यमिक विद्यालयलाई गत वर्ष जस्तै यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिने छ । कार्यक्रममा अतिथिहरूलाई तोकिएको समयमै उपस्थित हुन प्रतिष्ठानले अनुरोध गरेको छ ।
प्रतिक्रिया