काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति मिसनका एकजना क्यामेरोनियन शान्ति सैनिकको हत्याको निन्दा गरेका छन् । महासचिवका प्रवक्ताले ओहाम–पेन्डे प्रान्तमा भएको बम आक्रमणमा अन्य पाँच जना शान्ति सेना घाइते भएको र ती मध्ये दुई जना गम्भीर घाइते रहेको उल्लेख गरेका छन् ।
महासचिवले पीडित परिवार र क्यामरुन सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रवक्ता स्टेफेन दुजारिकले जारी गरेको विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
महासचिवले संयुक्त राष्ट्रसंघ शान्ति सैनिकहरूलाई लक्षित गरी आक्रमण गरिनु अन्तरराष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई स्मरण गराएका छन् । उनले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई यस आक्रमणका दोषीहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न समेत विशेष आग्रह गरेका छन् ।
प्रतिक्रिया