काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट शुरू गरिएको छ । काङ्ग्रेसको दोस्रो चरणको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन हो । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पार्टीका वरिष्ठ नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ अर्थात् ‘भारत एकता न्याय मार्च’ को आइतबार उद्घाटन गरेका थिए ।
गत बर्ष मणिपुरमा भएका जातीय हिंसाका कारण १८० भन्दा बढीको ज्यान गएको थियो र हजारौं घरबारविहीन भएका थिए ।
गान्धीले राज्यको थौबल जिल्लाबाट पदयात्रालाई उद्घाटन गरेका हुन् । उनले मणिपुरमा शान्ति र सद्भाव ल्याउने प्रतिज्ञा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मणिपुरको भ्रमण नगरेको भन्दै कटाक्ष गरे ।
पदयात्राको लक्ष्य ६६ दिनमा छ हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्नु रहेको छ । मार्च २० मा मुम्बईमा यसको समापन हुनेछ । सन् २०२२ को सेप्टेम्बरमा गान्धीले करिब १५० दिनमा चार हजार किलोमिटरको दूरी पार गरेर यस्तै अभियान चलाएका थिए ।
प्रतिक्रिया